पार्टी एकता र सरकारमा सहभागीताबारे ओली–प्रचण्डबीच डेढ घण्टा छलफल

पार्टी एकता र सरकारमा सहभागीताबारे ओली–प्रचण्डबीच डेढ घण्टा छलफल


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पार्टी एकताका विषयमा छलफल भएको छ । एमाले अध्यक्ष समेत रहेका ओलीको निजी निवास बालकोटमा दूई नेताबीच एक्ला एक्लै भेटवार्ता भएको हो ।

दुई पार्टीको एकिकरणबारे अनेक हल्ला चलिरहेका बेला दुवै शिर्ष नेताबीच करिव डेढ घण्टा छलफल भएको हो । भेटपछि संचारकर्मीसंग संक्षिप्त कुरा गर्दै माओवादी अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष ओलीसंग पार्टी एकताको बारेमा छलफल भएको बताए । उनले छलफल सकारात्मक भएको दावी गर्दै पार्टी एकता छिटो गर्न पहल भइरहेको बताए ।

दुवै नेताको छलफलपछि माओवादी अध्यक्ष प्रचण्डले पार्टीको केन्द्रिय कार्यालयको बैठक बोलाएका छन् । दुवै नेताको छलफलपछि आईतबार पार्टी एकता संयोजन समितिको बैठक बोलाइएको छ । संयोजन समितिको बैठकमा पार्टी एकता र सरकारमा सहभागीताबारे छलफल हुने माओवादीका एक नेताले जानकारी दिए ।

एमालेले पुर्व सहमति विपरित बहुदलिय जनवाद नछोड्ने अडान लिएपछि एकता प्रक्रियामा समस्या भएको माओवादीले आरोप लगाउदै आएको छ । एमाले अध्यक्ष प्रधानमन्त्री नियुक्त भएपछि सरकारमा सहभागी हुने तयारीमा लागेको माओवादीले अन्तिममा ओली नेतृत्वको सरकारलाई बाहिरबाट समर्थन गर्ने निर्णय गरेको थियो ।