पाकिस्तान विस्फोटको जिम्मा तालिबानबाट फुटेर बनेको हिजबुल समूहले लियो

पाकिस्तान विस्फोटको जिम्मा तालिबानबाट फुटेर बनेको हिजबुल समूहले लियो


एजेन्सी – पाकिस्तानको लाहोरमा सूफी मुसलमानहरुको एउटा धार्मिक स्थलबाहिर बुधबार बिहान विस्फोट गराएको थियो । विस्फोटनमा कम्तीमा नौ जनाको मृत्यु भएको र दुई दर्जनभन्दा बढी व्यक्तिहरू घाइते भएको अधिकारीहरूले बताएका छन्।

पाकिस्तानको पन्जाब प्रान्त प्रहरीका अनुसार प्रसिद्ध दाता सुफी दरगाहनजिकै प्रहरीको एउटा गाडीलाई तारो बनाएर सो आत्मघाती आक्रमण गरिएको थियो।मृत्यु हुनेमा पाँच सुरक्षाकर्मी पनि भएको बताइएको छ। पाकिस्तानी तालिबानबाट फुटेर बनेको हिजबुल अहरर समूहले आफूले सो विस्फोटन गराएको दाबी गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पवित्र रमजान महिना सुरु भएपछि यो साङ्घातिक आक्रमण भएको हो।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आक्रमणको निन्दा गरेका छन्। पाकिस्तानको दोस्रो ठूलो सहर लाहोरमा अवस्थित दाता दरबार दरगाह दक्षिण एशियामा भएका पुराना दरगाहमध्ये एउटा हो। त्यहाँ शिया र सुन्नी दुवै सम्प्रदायका मानिस तथा गैरमुस्लिमहरू पनि दर्शन गर्न जान्छन्। सर्वप्रथम गजनवी राजा सुल्तान जकिरुद्दिन इब्राहिमले यसको निर्माण गराएका थिए। त्यसपछि धेरै चोटि यसको विस्तार भएको छ।यहाँ सूफी सन्त अबुल हसन अली हज्वेरी अर्थात् दाता गन्ज बक्शको समाधि छ।भारत विभाजन हुनुभन्दा पहिला सो दरगाहमा सयौँ वर्षदेखि हिन्दूहरू पनि जाने गरेका थिए।

सन् २०१० मा सो दरगाहमा भएका दुई आत्मघाती विस्फोटनमा दर्जनौँ मानिसहरूको ज्यान गएको थियो। पाकिस्तानको पन्जाब प्रहरीका प्रमुख आरिफ नवाजका अनुसार यो प्रहरीप्रति लक्षित आत्मघाती आक्रमण थियो। इस्लाम धर्मअन्तर्गत भए पनि सूफी सम्प्रदाय अनुसरण गर्ने मानिसहरूलाई कट्टरपन्थी लडाकुहरूले आक्रमण गर्ने गरेका छन्।कट्टरपन्थीहरू सूफी सम्प्रदायलाई इस्लामविरोधी मान्छन्।

सन् २०१४ मा तालिबानले पेशावरस्थित विद्यालयमा आक्रमण गर्दा १४१ जनाको मृत्यु भएको थियो। त्यसपछि पाकिस्तानले अतिवादी लडाकु समूहविरुद्ध कारबाही सुरु र्गयो। सन् २०१६ मा लाहोरमा इस्टर पर्व मनाउन भेला भएका इसाईहरूलाई लक्षित एउटा विस्फोटनमा कम्तीमा ७२ जनाको मृत्यु भएको थियो।