-नरेन्द्रसिह कार्की
दार्चुला – नेपाल, भारत र चीनको त्रिदेशीय नाका ब्यास गाउँपालिका–१ छागरु र तिङ्करका स्थानीयवासीको बसाइँसराइ भएसँगै उनीहरु गाउँ पुगिसकेका छन् । झण्डै एक सातासम्म भारतीय बाटो भएर उनीहरु गाउँ पुगेका हुन् । यहाँका स्थानीय भन्दा अगाडि पुग्नुपर्ने सुरक्षाकर्मी भने अझै पुग्नसकेका छैनन् ।
गत मङ्सिरमा स्थानीयवासीको खलङ्गा बसाइँ सरेपछि त्रिदेशीय नाका तिङ्कर र नेपाल–भारत जोड्ने सीमा सीतापुलमा रहेका प्रहरी अहिले पनि ब्यास–२ दुम्लीङमै छन् । छ महीना राज्यको उपस्थितिका रुपमा रहने नेपाल प्रहरीले छाङ्गरु र तिङ्कर उक्लिन सकेको छैन् । नेपाली सुरक्षाकर्मी छाङ्गरु र तिङ्कर पुग्न नेपालतिर बाटो छैन् । स्थानीयवासीले भारतीय अनुमति लिएर बाटो प्रयोग गरे पनि हतियारसहित जानुपर्ने प्रहरीले भारतीय बाटो प्रयोग गर्न सक्दैनन् ।
गतवर्ष गाउँपालिकाले आफ्नै लगानीमा छाङ्गरु र तिङ्कर जाने गोरेटो बाटो निर्माण गरेको थियो । तर भारतले सीमा क्षेत्रमा बनाइरहेको सडकका कारण नेपालतिरको बाटो पूर्ण रुपमा अवरुद्ध भएको छ । भारतले कालापानी जाने सडक महाकाली किनारै किनार निर्माण गरिरहेको छ । “भारतले बनाइरहेको सडकमा प्रयोग गरिएको विष्फोटक पदार्थका कारण नदी थुनिन गई नेपालतिरको बाटो पूरै बगाएको हो”, गाउँपालिकाका अध्यक्ष दिलीपसिंह बुढाथोकीले भने, “घाँटी बगड क्षेत्रमा नेपालले निर्माण गरेको सडक भन्दा १५ फिटमाथि पानी पुगेको थियो ।”
ब्यास–२ तम्बाकुदेखि बुदिसम्मको क्षेत्रमा नेपालतिरको बाटो पूर्ण रुपमा अवरुद्ध छ । बाटो नभएकै कारण अहिले नेपाल प्रहरीले ब्यासको छाङ्गरु तथा तिङ्कर पूरै उक्लिन नपाएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक हिक्मतबहादुर बोहराले बताए । उनका अनुसार केही प्रहरीलाई मात्रै सितापुल पठाइएको छ ।
प्रहरीले रासन हातहतियारसहित माथि जाने अवस्था नभएपछि यही जेठ १ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकले हेलिकप्टर माग गर्ने निर्णय गरेको थियो । सितापुलमा सुरक्षाकर्मी पु¥याउन सदरमुकाम खलङ्गाबाट हेलिकप्टरमार्फत नेपाल प्रहरी पठाउने तयारी छ ।
नेपाली सेनाको हेलिक्पटरमार्फत सुरक्षाकर्मी सितापुल लगिने बताइए पनि हेलिकप्टर आउन सकेको छैन । हेलिकप्टर आउन अझै चार पाँच दिन लाग्ने जानकारी आएको प्रहरी निरीक्षक बोहराले बताए ।
प्रतिक्रिया