काठमाडौं – जेठ १७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कप्स’ एक कर्तव्यनिष्ठ प्रहरीको कथामा आधारित भएर निर्माण गरिएको निर्देशक सम्राट सापकोटाले बताएका छन् । तीन दशकदेखि अभिनयमा सक्रिय सापकोटाले यो फिल्मबाट निर्देशनमा डेब्यू गरेका हुन् । सरकारको सुरक्षा अंगको विषयमा फिल्म बनाउन निकै चुनौतीपूर्ण हुने पनि उनले बताए ।
आइतबार राजधानीमा फिल्मको विषयमा जानकारी दिन आयोजित पत्रकार भेटघाट कार्यक्रममा निर्देशक सापकोटाले भने, ‘पछिल्लो समय हाँस्य रस र लभस्टोरी फिल्मले बढी सफलता पाइरहेका छन् । यो अवस्थामा हामीले यथार्थवादी र समय–सापेक्ष फिल्म बनाएका छौं । नेपालको वर्तमान परिस्थितिलाई फिल्मको माध्यमबाट उजागर गरेका छौं ।’ यो फिल्ममा उनले पनि अभिनय गरेका छन् ।
खलनायकको चरित्रमा देखिँदै आएका अनुपविक्रम शाहीले यस फिल्ममा सकारात्मक भूमिका निभाएका छन् । उनी एक कर्तव्यनिष्ठ प्रहरीको भूमिकामा छन् । डिएसपीको भूमिका निभाएका उनी भन्छन्, ‘मैले मेरो क्यारेक्टरलाई न्यायपूर्वक निभाउने प्रयास गरेको छु । देशभक्ति फिल्म भएका कारण एकपटक सबै नेपालीलाई हेर्न आग्रह गर्छु । फिल्म राम्रो बनेको छ । दर्शकलाई निराश बनाउँदैन ।’
‘आर्या मुभिज’ र ‘सारा श्री मुभिज’ को निर्माणमा बनेको फिल्ममा सुशान्त प्रजापतिको छायांकन र अष्ट महर्जनको द्वन्द्व छ । फिल्मका निर्माता राम शाक्य हुन् । एक्सन र लभस्टोरी जनरामा बनेको फिल्ममा कविराज गहतराज र शिशिर खातीको नृत्य र विजय घिमिरे र स्वयम्भुराज शाक्यको संगीत छ । विपिन मल्लले फिल्मको सम्पादन गरेका छन् ।
प्रतिक्रिया