कोकेनका २४६ प्याकेट निलेका यात्रीको विमानमै मृत्यु

कोकेनका २४६ प्याकेट निलेका यात्रीको विमानमै मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – लागुऔषध कोकेनका २४६ वटा प्याकेट निलेका एक जना जापानी यात्रीको विमानमै मृत्यु भएको छ । मृत्यु हुनेमा उदो एन नाम गरेका यात्री रहेका छन् ।

मेक्सिको सिटीबाट उडेको उक्त विमान जापानको नारिता अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरण गर्नुपर्ने थियो ।

तर ती यात्रीको मस्तिष्कमा समस्या देखिन थालेपछि मेक्सिकोको सनोरा राज्यमा विमानले आपत्‌कालीन अवतरण गराउनुपर्‍यो ।

अधिकारीहरूका अनुसार अत्यधिक लागुऔषधका कारण मस्तिष्कमा उत्पन्न हुने एउटा समस्याका कारण उदो एनको ज्यान गएको बताइएको छ ।

कोलम्बियाको राजधानी बोगोटाबाट यात्रा सुरु गरेका उनले मेक्सिको सिटीबाट उडान परिवर्तन गरेका थिए ।

सनोराका महान्यायाधिवक्ताले जारी गरेको एउटा वक्तव्य अनुसार साढे दुई सेन्टिमिटर लम्बाइ र एक सेन्टिमिटर चौडाइ भएका कोकेनका प्याकेटहरू ती व्यक्तिको पेटमा रहेको पोस्टमार्टबाट देखिएको थियो।

एरमोसिल्यो नगरमा विमानलाई आपत्‌कालीन अवतरण गराइए पनि पछि बाँकी १९८ जना यात्रीलाई गन्तव्यसम्मको यात्रा गराइएको थियो ।

मेक्सिकोका सङ्घीय अधिकारीहरूले घटना बारे अनुसन्धानलाई अगाडि बढाउने बताएका छन् ।