काठमाडौं-निजगढ द्रुतमार्ग निर्माण समयमै सम्पन्न हुन्छ :नेपाली सेना

काठमाडौं-निजगढ द्रुतमार्ग निर्माण समयमै सम्पन्न हुन्छ :नेपाली सेना


काठमाडौं – नेपाली सेनाले काठमाडौं-निजगढ द्रुतमार्ग निर्माणको काम तोकिएकै समयमा सम्पन्न गर्ने प्रतिवद्धता जनाएको छ ।  नेपाली सेनाका इन्जिनियरिङ विभाग प्रमुख उपरथी योगेन्द्रबहादुर खाँडले काठमाडौं-निजगढ द्रुतमार्ग निर्माणको काम तोकिएकै समयमा सम्पन्न गर्ने प्रतिवद्धता जनाएका हुन् ।

मंगलबार राष्ट्रियसभाअन्तर्गत्को राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा आयोजना प्रमुख एवं नेपाली सेनाका उपरथी योगेन्द्र खाँणले २०७९ साल असोज महिनाभित्र सम्पन्न गर्नेगरी आयोजनाको काम द्रुतगतिले अगाडि बढिरहेको जानकारी दिए । दु्रतमार्गको काम निर्धा्रित समयभित्र सक्न सेनाले दिनरात काम गरिरहेको आयोजना प्रमुख योगेन्द्र बहादुर खाँणले जानकारी गराए । आयोजना स्थलमा नेपाली सेनाका तर्फबाट १ हजार जना र सर्वसाधारण ३ हजार गरी ४ हजार कामदार दिनरात खटिएको उनले बताए ।

सेनाले आयोजनास्थलका विभिन्न १० ठाउँमा क्याम्प खडा गरेर काम गरिरहेको छ । सडक निर्माणका लागि हालसम्म १० हजार ७ सय ३३ रोपनी जग्गा अर्थात ९६ प्रतिशत अधिग्रहण भएको छ भने ४ प्रतिशत अर्थात ६ सय ५६ रोपनी जग्गा अधिग्रहण गर्न बाँकी रहेको छ । सो आयोजना अन्तरगतको पुल निर्माणको कामलाई पनि   तीव्रता दिइएको आयोजनाका प्रमुख उपरथी खाँणले बताए। उनले आयोजनाको ६५६ रोपनी जग्गा अधिग्रहणको काम बाँकी रहेको उल्लेख गर्दै त्यसलाई पनि अघि बढाउने बताए।

आयोजना क्षेत्रमा काटिएका रुखको काठ उपयोगमा नआउनुमा सेनाको दोष नरहेको उनले बताए । यसैबीच, समितिले आयोजना तयार पारेको विस्तृत् परियोजना प्रतिवेदन (डीपीआर) मन्त्रीपरिषद्बाट स्वीकृत गर्न र मुआब्जाको विवाद तत्काल समाधान गरी सेनालाई काम गर्ने बाटो खोलिदिन सरकारलाई निर्देशन दिएको छ ।
समितिकी सभापति दिलकुमारी रावल थापाले सो आयोजनाको कामलाई तोकिएकै समयमा सम्पन्न हुने गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पेश गरिएको विस्तृत परियोजना प्रतिवेदन स्विकृत गर्न सरकारलाई निर्देशन दिइएको जानकारी दिइन्।

बैठकमा समितिका सदस्यहरुले सो आयोजनाको कामलाई अघि बढाउँदा स्थानीय जनतालाई मारमा पार्ने काम नगर्न पनि नेपाली सेनाको गम्भिर ध्यानाकर्षण गराएका थिए। त्यसैगरी सो आयोजनाको विस्तृत परियोजना प्रतिवेदन १० करोड लागतमा निर्माणका गरिएको र त्यो स्विकृतिका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पेश गरिएको पनि आयोजना प्रमुख उपरथी खाँणले जानकारी दिए।

 

यसैबीच, राष्ट्रिय सरोकार तथा समन्वय समितिले आयोजनाले तयार पारेको विस्तृत परियोजना प्रतिवेदन मन्त्रिपरिषद बैठकबाट स्विकृत गरी काठमाडौं–तराई -मधेश द्रुतमार्ग सडक आयोजना निर्माणको कामलाई निर्धा्रित समय भित्रै सम्पन्न गर्न नेपाली सेनालाई सहज बाटो खोली दिन सरकारलाई निर्देशन पनि दिएको छ।आयोजनाका प्रमुख उपरथी खाँणले तोकिएकै समय भित्र सो आयोजनाको कामलाई सम्पन्न हुने गरी सबै कामलाई अघि बढाइएको बताए।

उनले आगामी आर्थिक वर्षको सूरुमै सो आयोजना अन्तरगतको सडकको कालोपत्रेका लागि आवश्यक सामग्री खरिद प्रक्रिया सुरु गर्ने योजना तय गरिएको पनि बताए। सरकारले २०७४ साल साउन २७ गते ७६.२ किलोमिटर लामो द्रुतमार्ग निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो ।