काठमाडौं– नेपाली सेनाका प्रधानसेनापति पुर्णचन्द्र थापा संयुक्त राज्य अमेरिकाको भ्रमणमा जाने भएका छन् । संयुक्त राष्ट्रसंघको आयोजनामा न्युयोर्कमा हुन लागेको चिफ अफ डिफेन्स कन्र्फेन्समा सहभागी हुन प्रधानसेनापति थापा त्यहां जाने तयारीमा छन् ।
उक्त सम्मेलनमा सहभागी हुन थापा जुलाईमा अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ । ९ र १० जुलाईमा आयोजना हुने दुई दिने सम्मेलनमा सहभागी भएर थापाले अमेरिकी सेनाका सकमक्षीसंग समेत भेटवार्ता गर्नेछन् । सम्मेलनमा विश्वभरका प्रधानसेनापतिहरुको सहभागिता रहनेछ ।
प्रधानसेनापति थापाले सम्मेलनमा आफ्ना धारणा राख्ने कार्यक्रम समेत छ । थापाले विश्व शान्तिमा नेपाली सेनाले पुरयाएको योगदानबारे चर्चा गर्नुका साथै शान्ति सेनाले भोगिरहेका समस्या र समाधानका उपायका बारेमा समेत राष्ट्रसंघका उच्च अधिकारीसंग छलफल गर्नेछन् । थापा पनि यसअघि नेपाली सेनाको तर्फबाट शान्ति सेनामा फोर्स कमाण्डरका रुपमा कार्यरत रहेका थिए ।
पछिल्लो समय नेपाली सेनाको तर्फबाट यूएनमा उच्च तहको सहभागिता हुन सकेको छैन् । फौजं योगदानको हिसावले नेपाली सेना युएनमा पांचौ मुलुक भएपनि त्यसअनुसार उच्च तहमा सहभागीता नभएकोले प्रधानसेनापतिले त्यसबारेमा समेत छलफल गर्ने कार्यक्रम छ ।
थापाले वासिंङटन डिसीमा रहेको अमेरिकी रक्षामन्त्रालयका अधिकारीहरुसंग पनि द्धिपक्षिय भेटघाट गर्ने कार्यक्रम तय भएको बताईएको छ ।
अमेरिकी सेना र इण्डो प्यासेफिक कमाण्डले थापालाई यसअघि नै अमेरिका भ्रमणको औपचारीक निम्तो प्रदान गरिसकेको छ । प्रधानसेनापतिको भ्रमणको लागी नेपाली सेनाको तर्फबाट युएन हेर्ने सहायकरथी पदमबहादुर सिंह र वासिंङटन डिसिस्थित सैनिक सहचारी महासेनानी मधुकर कार्की तयारीमा जुटेका छन् ।
थापा प्रधानसेनापति भइसकेपछि भारतको औपचारिक भ्रमणमा नयां दिल्ली गएका थिए । उनले हालसम्म कुनै पनि अन्य मुलुकको भ्रमण गरेका छैनन् ।
यसअघिका प्रधानसेनापतिहरु विदेशमन्त्री जत्तिकै विभिन्न मुलुकको भ्रमणमा जाने गरेका थिए । तर, थापाले भने विदेश मोहको सट्टा सेनाभित्रको आन्तरिक सुधारमा जोड दिएका छन् ।
चीन,पाकिस्तान, अमेरिका र बेलायतलगायतका शक्तिशाली मुलुकहरुले उनलाई भ्रमणकोे निम्तो दिएपनि उपयुक्त समयमा भ्रमण गर्ने कुटनितिक जवाफ दिदैं आएको सैनिक स्रोतले जानकारी दियो ।
प्रतिक्रिया