सरकारले सुरक्षा निकायमा मनपरि गरेर गल्ती गरिरहेको छ : पुर्व गृहमन्त्री रावल

सरकारले सुरक्षा निकायमा मनपरि गरेर गल्ती गरिरहेको छ : पुर्व गृहमन्त्री रावल


काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) का प्रभावशाली नेता भीम रावलले राज्यका सुरक्षा निकायहरुलाई प्रणालीगत हिसाबले नचलाईएकोप्रती असन्तुष्टी जनाएका छन् । सगरमाथा टेलिभिजनको अन्तर्वार्तामा उनले एआईजीको दरबन्दी नै नरहेको राष्ट्रिय सुरक्षा परिषदमा एआईजी धीरु वस्न्यातलाई काजमा पठाउने गरी सरकारले गरेको निर्णयको चर्को आलोचना गरे ।

पुर्व गृह र रक्षामन्त्री समेत रहेका नेता रावलले सरकारका यस्ता गतिविधिले सुरक्षा निकायलाई निकम्मा बनाउंदै लैजाने र त्यसले राष्ट्रको शक्तिमा असर पुग्ने चिन्ता व्यक्त गरेका छन् ।

एआईजी वस्न्यातलाई गृहमन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद बैठकले १७ वैशाखमा राष्ट्रिय सुरक्षा परिषदमा सरुवा गरेको थियो । उनले उक्त सरुवाप्रति असन्तुष्टि जनाउंदै १५ दिन विदा लिईसकेका छन् । वस्न्यातमाथी ऐकेडेमीमा हुंदा आर्थीक हिनामिना गरेको आरोप लगाईए पनि त्यसको छानविन भने भएको छैन् । एआईजीमाथी लागेको आरोपमाथी छानविन नभई सरुवा गर्नुलाई पनि प्रहरी संगठनभित्र आश्चर्यका साथ हेरिएको छ ।

पुर्व गृहमन्त्री रावलले राष्ट्रिय सुरक्षा परिषदमा डीआईजी तहको प्रहरी पठाउनुपर्नेमा एआईजी तहको पठाएर नीज एआईजी असन्तुष्ट हुनुभयो भन्ने समाचार पढेको भन्दै त्यसप्रति चर्को असन्तुष्टि जनाए । उनले सरकारले यस्तो काम गरेर प्रणाली विगारेको आरोप लगाए । नेता रावलले आफुले सरकारको आलोचना गरेको नभई प्रणालीगत कुरा बाहिर आएपछि मात्र आफु दावी गरे ।

देशका सबै सुरक्षा निकायहरुलाई आजको युग अनुकुल सुदृढ र गुणात्मक स्तरमा परिवर्तन गर्नका लागि प्रणाली बलियो बनाउंदै लानुपर्नेमा झन कमजोर बनाउने काम गर्नु दुखद रहेको उनको भनाई छ । उनले सेना, प्रहरी र गुप्तचर जस्ता निकायहरुमा बिधी प्रणाली र प्रक्रियालाई कुनै पनि हालतमा मिच्नु नहुने बताए ।

माथिल्लो तहको प्रहरीलाई तल ल्याएर संगठनको काम प्रभावकारी भएन भनेर रुनुको कुनै अर्थ नहुने नेता रावलको टिप्पणी छ । सरकारले गरेका यस्ता कामका बिषयमा पार्टीमा बहस चलाउने र यसो गर्नुको कारण खोजेर प्रणाली मिच्दै हजुवाको भरमा जे मन लाग्यो त्यही गर्ने प्रबृत्तिको भण्डाफोर गर्ने समेत नेता रावलले चेतावनी दिएका छन् ।

आईजीपी सर्वेन्द्र खनालले पनि देशभर अपराध र असुरक्षाका घटना बढिरहेका बेला अपराध अनुसन्धान बिभागको नेतृत्व भने खाली राखेका छन् । वस्न्यातलाई एआईजी पदको दरबन्दी खाली राखेर सुरक्षा परिषद पठाउनुको पछाडी पुर्वाग्रहले काम गरेको बताईन्छ ।