हुवावेले निकाल्यो अमेरिकी नागरिकलाई जागिरबाट

हुवावेले निकाल्यो अमेरिकी नागरिकलाई जागिरबाट


एजेन्सी – चिनियाँ टेलिकम्युनिकेसन कम्पनी हुवावेले अमेरिकी नागरिकलाई जागिरबाट निकालेको छ ।

फाइनान्सियल टाइम्स पत्रिकाका अनुसार अमेरिकाले आफूलाई कालो सूचीमा राखेपछि केही साताअघि नै हुवावेको केन्द्रीय कार्यालय सेञ्जेनमा काम गर्ने अमेरिकी नागरिकलाई जागिरबाट निकालेको हो ।

हुवावेका प्रमुख रणनीतिक आर्किटेक्ट दांग वेनसुवानलाई उद्धृत गर्दै उक्त पत्रिकाले रिसर्च एन्ड डेभलपमेन्ट विभागमा कार्यरत थुप्रै अमेरिकी नागरिकलाई दुई साताअघि नै फिर्ता पठाइएको उल्लेख गरेको छ ।

हुवावेले आफ्ना कर्मचारीलाई अमेरिकीहरूसँग कुनै पनि प्रकारको प्राविधिक बैठक नगर्न निर्देशन पनि दिएको छ ।
यसअघि हुवावेका प्रमुख रेन झेङफेईले अमेरिका–चीन व्यापार वार्तामा आफू सहभागी नहुने बताएका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई देशको व्यापार वार्तामा हुवावेलाई समावेश गर्न सकिने बताएपछि रेनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

ब्लुमवर्ग टेलिभिजनलाई दिएको अन्तर्वार्तामा रेनले भनेका छन, ‘ट्रम्पको त्यो प्रस्ताव आफैंमा ठूलो जोक हाे । अमेरिकाले कहिल्यै पनि हाम्रा सामान किनेको छैन । भविष्यमा उसले किन्न चाह्यो भने पनि म उनीहरूलाई सामान बेच्ने छैन। त्यसैले नेगोसियसनको कुनै जरूरी छैन ।’

उनले ट्रम्पले आफूलाई वार्ताका लागि बोलाए पनि वेवास्ता गरिदिने बताए । ‘उनले मलाई फोन गरे पनि म उठाउदिनँ, हुन त उनीसँग मेरो नम्बर पनि छैन । मैले उनको ट्वीट देखें र हाँसें, किनकी उनको भनाइ आफैंमा विरोधाभाषपूर्ण छ,’ रेनले भन ।

ट्रम्पले गत बिहीबार अमेरिका–चीनबीचको व्यापार वार्तामा हुवावेको भूमिका हुन सक्ने बताएका थिए ।