वाम कार्यदलले काम थाल्योः एकीकृत पार्टी संघीय संरचनाअनुसार

वाम कार्यदलले काम थाल्योः एकीकृत पार्टी संघीय संरचनाअनुसार


काठमाडौं– एमाले र माओवादी केन्द्रको एकताका लागि गठन भएको वाम कार्यदलले शनिबारदेखि काम थालेको छ।

एकीकृत पार्टीको संगठन व्यवस्थापन लगायत विधि तयार गर्न गठित कार्यदलले दुवै दलका विधानको सन्दर्भलाई लिएर एकीकृत मस्यौदा तयार गर्ने निर्णय गरेको छ।
कार्यदलले १५ दिनभित्र प्रतिवेदन बुझाइसक्नुपर्ने छ।

एमाले सचिव गोकर्ण विष्टका अनुसार कार्यदलले विधानमा समेट्नुपर्ने विषय र संगठनको स्वरूप लगायत कामको कार्यतालिका नै बनाएर छिटो काम सक्नेछ। एमाले र माओवादी केन्द्रबीच गत बुधबार पार्टी एकताको औपचारिक आधार सहितका ७ बुँदे सहमति भएको थियो।

बैठकमा एमाले र माओवादी केन्द्रका संगठनात्मक ढाँचा, अभ्यास तथा अनुभवका बारेमा एक अर्का पार्टीको जानकारी आदानप्रदान गर्ने काम भएको विष्टले बताए।

बैठक माओवादी केन्द्रका नेता रामबहादुर थापाको अध्यक्षतामा बसेको थियो। कार्यदलको अर्को बैठक फागुन १५ गते एमाले केन्द्रीय कार्यालय धुम्रबाराहीमा बस्नेछ।

कार्यदलमा एमाले महासचिव ईश्वर पोखरेल, सचिव विष्ट, नेताहरु रघुवीर महासेठ, सुरेन्द्र पाण्डे, बेदूराम भुसाल सदस्य तथा माओवादीका तर्फबाट नेता थापा, वर्षमान पुन, मातृका यादव, गिरिराजमणि पोखरेल र जनार्दन शर्मा सदस्य छन्।