उपेन्द्र यादवलाई परराष्ट्रमन्त्री दिन ओली – प्रचण्ड सहमत

उपेन्द्र यादवलाई परराष्ट्रमन्त्री दिन ओली – प्रचण्ड सहमत


काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीबीच अहिले बालुवाटारमा छलफल भइरहेको छ । प्रधानमन्त्रीले आज सांझ मन्त्रिपरिषद् बिस्तार गर्ने भएका छन् । प्रधानमन्त्री  ओलीले सपथको लागि राष्ट्रपतिको कार्यालय शीतल निवासमा जानकारी गराइसकेका छन् ।

ओली र प्रचण्डले छलफल गरेपछि मात्रै मन्त्रीहरुको नाम सार्वजनिक गरिने बालुवाटार स्रोतले जनाएको छ । स्रोतका अनुसार ओलीले एमाले नेता माधव नेपाल र झलनाथ खनाललाई पनि छलफलका लागि बालुवाटार बोलाएका छन् । मन्त्रालयको करिव करिव टुंगो लागिसके पनि कतिपय मन्त्रालय र मन्त्रीहरुको नाममा प्रधानमन्त्री ओली र प्रचण्डको चासो भएकाले अध्यक्षद्वयले एमाले र माओवादीबाट सिफारिस भएको नामको अन्तिम टुंगो लगाउने माओवादी स्रोतले जानकारी दिएको छ । माओवादीबाट रामबहादुर थापाको नेतृत्वमा सरकारमा जाने तयारी गरेको छ । थापालाई गृह मन्त्रालय दिने स्रोतको दाबी छ ।

ओली र प्रचण्डबीच संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउने बिषयमा पनि छलफल भएको बालुवाटार स्रोतले जनाएको छ । फोरमका अध्यक्ष उपेन्द्र यादव आए परराष्ट्रमन्त्री बनाउन पनि ओली र प्रचण्ड सहमत रहेकाछन् । फोरमलाई एक मन्त्री र एक राज्यमन्त्री दिने तयारी छ । तर फोरमले दुई मन्त्रालय मागेको छ ।