मोदी र ओलीको सम्बन्ध खराव नभएको विजेपी नेताको दाबी

मोदी र ओलीको सम्बन्ध खराव नभएको विजेपी नेताको दाबी


काठमाडौं– नेपाल–भारत प्रबुद्ध समूहका भारत तर्फका संयोजक एवम् नेपाल मामिलाका जानकार भगतसिंह कोशियारीले आगामी दिनमा नेपाल–भारत सम्बन्ध झनै प्रगाढ बन्ने दाबी गरेका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै कोशियारीले यस्तो विश्वास दिलाएका हुन् । उनले भने,‘आगामी दिनमा नेपाल–भारत द्धिपक्षीय सम्बन्ध विकास र समृद्धिमा बढि केन्द्रित हुन्छ, भारत नेपालमा विकास भएको हेर्न आंतुर छ, यहां स्थायित्व कायम होस, एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नेपालमा नयां सरकार बनेको छ, यो सरकारले देश र जनताको हितमा काम गरोस्।’

उनले आगामी दिनमा नेपाल–भारत द्धिपक्षीय सम्बन्ध थप मजबुद हुने र विकास साझेदारीमा हातेमालो गर्दै अघि बढ्ने बताए ।

उनले अघि थपे,‘नेपाल–भारत सम्बन्धको सवाल छ, म धेरै विश्वासका साथ भन्न सक्छु कि नेपालका जति पनि नेताहरु हुनुहुन्छ उहांहरु सबैको भारतसंग राम्रो सम्बन्ध छ । जहांसम्म पब्लिकको भारतसंगको सम्बन्धको कुरा छ । उहांहरुको त झनै अटुट सम्बन्ध छ । म सोच्छु कि दुधमा यदि चिनी मिलाईयो भने तपाई चिनीलाई अलग गर्न सक्नुहुन्न । यस्तै भारत र नेपालको सम्बन्ध छ । अहिले नेपालमा नयां सरकार बनेको छ । जनताको यो सरकारसंग धेरै ठूलो अपेक्षा छ ।’

कोशियारीले नेपाल–भारत सम्बन्ध युनिक रहेको उल्लेख गर्दै भने,‘यो सम्बन्ध उदाहरणीय छ । नेपालका सबै नेताहरुले एउटै कुरा गर्नुभएको छ । उहांहरु तीन जनाकै पार्टी अलग–अलग छन् । तर तीनै जनाको एउटै स्वर छ । भारतसंगको नेपालको सम्बन्ध सनातन छ । विकासको लागि मिलेर काम गर्ने उहांहरुले मलाई आश्वासन दिनुभएको छ।’

त्यस्तै उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री ओलीवीच कहिल्यै पनि सम्बन्ध खराब नरहेको जिकिर गरे ।