– गुठी ब्यवस्था नेपालको मौलिक धर्म, संस्कृति, संस्कार, परम्परा र त्यसलाई अनुसरण गर्ने समुदायहरुको पहिचान हो । अन्ततः यो राष्ट्रको पनि पहिचान हो । सरकारले संसदमा पेश गरेको गुठी बिधेयकले काठमाडौंका गुठीहरु कमजोर पारी विघटन गर्न खोजेको आशंका गुठीयारहरुमा रहेको देखिन्छ । नेपालमा धेरै किसिमका गुठीहरु सदियौं देखि संचालनमा रहेका छन् ।
काठमाडौंका गुठीयारहरु गुठी ब्यवस्थालाई कमजोर होईन बलियो पार्न चाहेको स्पष्ट देखिन्छ । बिधेयकको बिरोधमा काठमाडौंमाआयोजना गरिएको एउटा सभामा एक जना युवक गुठीयारले भन्नुभयो, ‘झिगु गुठी झिगु अस्तित्व, झिगु ज्यान,झिगु गहना, झिगु मान, झिगुशान’अर्थात हाम्रो गुठी हाम्रो अस्तित्व, हाम्रो ज्यान, हाम्रो गहना, हाम्रो मान, हाम्रो शान । उहांको भनाई अत्यन्तै सारगर्वित, मननयोग्य र रणनीतिक अर्थको छ । गुठी पद्यतिलगायत नेपालका हरेक संस्कति, संस्कार र परम्पराको सिधा र गहिरो सम्बन्ध राष्ट्रिय सुरक्षासंग गांसिएको छ ।
हाम्रो संस्कृति र परम्परा नेपाल राष्ट्रको बिभिन्न मूल्य र मान्यताहरु मध्य एउटा महत्वपूर्ण मूल्य र मान्यता हो । मुलुकको महत्वपूर्ण मूल्य र मान्यताको प्रवद्र्धन र रक्षा गर्नु नै राष्ट्रिय सुरक्षा हो । यसका बिरुद्ध देश भित्र र बाहिरबाट चुनौति उत्पन्न भएमा जनताले ज्यानको समेत बाजी राखेर रक्षा गर्दछन् । यो संबेदनशीलता र महत्वलाई नेपालको संबिधानले पनि स्विकार गरेको अवस्था छ ।
नेपालको संविधानको धारा ३ मा राष्ट्र भन्नाले ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक बिशेषतायुक्त … एकताको सुत्रमा आवद्ध सबै नेपाली जनता समष्टीमा राष्ट्र हो’ भनि स्पष्ट ब्यवस्था गरिएको छ । धारा ४ मा ‘धर्म निरपेक्ष भन्नाले सनातन देखि चलिआएको धर्म संस्कृतिको संरक्षण लगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनु पर्दछ’ भनी स्पष्ट पारिएको छ । काठमाडौं उपत्यकाको गुठी हजारौं बर्ष पुरानो र उपत्यकाको संस्कृति र सभ्यतासंग गांसिएको छ । गुठी भनेको जनसमुदायले धर्म र संस्कृतिको प्रबद्र्धनको लागि स्वतन्त्र ढंगले श्रृजना गरेको प्रणाली हो । नेवार समुदाय बसोवास गर्ने उपत्यका बाहिरका शहर बजारमा पनि यस्तै प्रकारका गुठी प्रणाली बिद्यमान छ ।
नेपालको राष्ट्रिय सुरक्षानीति २०७५ले पनि संस्कृति र परम्परालाई नेपालको मूल्य मान्यताको रुपमा उल्लेख गरेको बुझिन्छ । राष्ट्रिय सुरक्षा नीतिले मौलिकता र विशिष्टतामा आधारित नेपाली संस्कृति र परम्परागत पहिचानलाई प्रवर्धन र संरक्षण गर्नु नेपाली जनताको साझा चाहना र कर्तव्य हो भनी जोड दिईएको छ । गुठी बिधेयकको बिरोधमा निस्किएको जुलुसमा ‘गुठी हाम्रो प्राण हो, गुठी हाम्रो ज्यानहो’ भन्ने नारा घन्किएको सुनियो ।
गुठी बिधेयकको विरोध सभाहरुमा सोचे भन्दा अत्यधिक संख्यामा गुठियारहरु सडकमा आएर बिधेयक खारेजीको माग मात्र गरेनन्, बिधेयकको खारजी नभएसम्म आन्दोलन जारी राख्ने घोषणा समेत गरे । राष्ट्रमा स्थापित महत्वपूर्ण मूल्य र मान्यताको रक्षार्थ जनताहरु यसरी स्वतफूर्त रुपमा बिरोधमा उत्रन्छन र आवश्यकता परे ज्यानको समेत बाजी राखेर रक्षा गर्न तत्पर हुन्छन् भन्ने यो एउटा प्रतिनिधिपात्र घटना मात्र हो । तसर्र्थ, अहिलेको घटनाले नेपालीहरुको धर्म, संस्कृति र परम्परा नेपालको महत्वपूर्ण मूल्य र मान्यताहो भन्ने कुरा स्पष्ट पारेको छ ।
राजतन्त्रको अन्त्यसंगै नेपालका केही स्थापित महत्वपूर्ण मूल्य र मान्यताहरु खारेज भएको र त्यसपछिका बर्षहरुमा आमजनतालाई सर्वस्विकार्य हुने नयां मूल्य र मान्यताहरु स्थापित भईनसकेको अवस्था छ । नेपालको संविधानमा नेपाललाई धर्म निरपेक्ष राज्य घोषणा गरिएको हालको अवस्थामा जनताको धर्म, संस्कृति र परम्परा माथि राज्यले हस्तक्षेप गर्न मिल्दैन र पाउंदैन । धर्म निरपेक्षता भनेको राज्यको धर्म हुंदैन, धर्मं संस्कृतिमा राज्यले हस्तक्षेप गर्न हुदैन, राज्यकुनै पनिधर्म, संस्कृति र परम्पराको पक्ष र बिपक्षमा उभिनु हुंदैन र धर्मले पनि राज्य संचालनमा हस्तक्षेप गर्न हुंदैन भन्ने सिद्धान्त हो । धर्म निरपेक्षता अन्तर्गत स्वतन्त्र रुपमा जनताले आआफ्ना धर्म, संस्कृति र परम्पराको संरक्षण र प्रबद्र्धन गर्न पाउंछन् ।
संविधानले पनि धर्म र संस्कृतिको संरक्षण गर्नुपर्ने स्पष्ट ब्यवस्था गरेको छ । धर्म संस्कृति र परम्परा मास्दै जाने हो भने नेपालको पहिचान र अस्तित्व धरापमा पर्ने निश्चित छ । राज्यहरुको बिभाजन, जन्म र विकास धर्म संस्कृतिको आधारमै भएका छन् । टाढाको कुरा होइन भारत, पाकिस्तान र बंगलादेशको इतिहास हेरौं र मनन गरौं । यी देशहरुको बिभाजन, जन्म, बिकास र आपरी कलहझगडा धर्म, संस्कृति र भाषाको कारणले भएका हुन् । पश्चिमा देशहरु र मध्यपूर्वका देशहरुवीचको लामो द्धन्द, प्रतिस्पर्र्धि, सभ्यता, धर्म र संस्कृतिकाकारणले नै भएका हुन् ।
चीनको कम्युन र इजरायलको किब्बुज पनि काठमाडौंको गुठी अवधारणासंग मिल्दोजुल्दो प्रणाली हो । यद्यपि, ती देशका प्रणालीहरु धर्म, संस्कृतिसंग नभई रोजगारी, विकास र सम्पन्नतासंग गांसिएका छन् । आखिर कुरा उस्तै उस्तै हुन्, समुहमामिलेर कामगर्ने प्रणाली र सभ्यता। सामुहिकताको भावनाले राष्ट्रलाई बलियो बनाउँदछ । राष्ट्र पनि सामुहिकताको बिशाल रुप हो ।
संयुक्त राज्य अमेरिकामा अमेरिकी जिवन पद्यतिलाई पूर्वीय संस्कृति र परम्पराको समकक्षी राखेर हेरिन्छ । अमेरिकीहरु आफ्नो जिवन पद्यतिको प्रवद्र्धन र रक्षाको लागि जस्तोसुकै कदम चाल्न पनि तयार देखिन्छन् । केही बर्षयता युरोपका देशहरुले बाह्य धर्म, संस्कति र परम्परालाई राष्ट्रिय सुरक्षा खतराको रुपमा पहिचान गरेका छन् । उदाहरणको लागि फ्रान्स लगायत युरोपका छ वटा देशहरुले मुसलमान महिलाले लगाउने बुर्का लगाउन निषेधनै गरेको छ । तसर्थ, धर्म, संस्कृति र परम्पराहरुको राष्ट्रिय सुरक्षासंग गहिरो सम्बन्ध छ । नेपालमा बिद्यमान संस्कृति, परम्परा र सामाजिक सद्भाव नेपालीहरुको जिवन पद्यति हो ।
नेपालमा रणनीतिक संस्कृति (Strategic culture)को अभाव छ । यसलाई परिपक्व ढंगले संचालन गर्ने गरी संस्थागत बिकास पनि भएको छैन र बिकास गर्ने तत्परता र प्रतिवद्धता देखिन पनि बांकी नै छ । हरेक बिषयहरुलाई गहिरिएर बिश्लेषण गर्ने र राष्ट्रलाई त्यसले अल्पकाल र दीर्घकालमा कसरी कमजोर बनाई रहेको छ भनेर निरन्तर बिश्लेषण गरी तदनुरुप नीति निर्माण गर्नु आवश्यक छ । मुलुक अस्थिरता र संक्रमणमा रहेको अवस्थामा धर्म, संस्कृति र परम्परा माथि सबैभन्दा बढी हस्तक्षेप र आक्रमण हुने गर्दछ । हस्तक्षेपकारी शक्तिहरुले यस्तै मौकाखोजी रहेका हुन्छन् । अब नेपालमा अस्थिरता ल्याउन धर्म, संस्कति र परम्परा माथि आक्रमण गर्ने सम्भावनालाई पनि नकार्न सकिंदैन । त्यस्ता तत्वहरुले सकेसम्म अस्थिरता र संक्रमणलाई लम्ब्याउन चाहन्छन् ।
नेपालको धर्म, संस्कृति, परम्परा, र बिशिष्ट सामाजिक सद्भावले गर्दा नै नेपाल सानो देश भएर पनि स्वतन्त्र राष्ट्रको रुपमा बिश्वमान चित्रमा अंकित छ । नेपाललाई कमजोर र क्रमशः बिघटनको दिशामा लैजान चाहने बाह्य र भित्री तत्वहरुले गर्ने भनेकै नेपाली धर्म, संस्कृति र परम्परामा आधारित जिवन शैलीमाथि आक्रमण हो । नेपालको संविधान निर्माता दलहरु र सभासदहरुकै अगाडि नेपाली संस्कृति र परम्परामाथि आक्रमण हुनु आश्चर्यजनक बिषय हो । यसमा सरकार, संसद, न्यायालय र जनसमुदाय सबै बेलैमा सचेत, सतर्क र संरक्षणको खारित तम्तयार रहनु पर्दछ ।
(लेखक अवकास प्राप्त उपरथी हुनुन्छ । उहाँले राष्ट्रिय सुरक्षा रणनीतिमा स्नातकोत्तर र विद्यावारिधी गर्नु
भएको छ । उहाँलाई [email protected] मा सम्पर्क गर्न सकिने छ)
प्रतिक्रिया