को हुन्, गृहमन्त्री बादल र उद्योगमन्त्री यादव?

को हुन्, गृहमन्त्री बादल र उद्योगमन्त्री यादव?


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मन्त्रिपरिषद् विस्तार गर्दा नेकपा माओवादी केन्द्रबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मातृका यादव बनेका छन्।

३ पुसमा गठीत मन्त्रिपरिषद्को संख्या सात पुुग्दा माओवादीबाट बादल र यादव सरकारमा सहभागी बनेका छन्। सोमबार विस्तारित मन्त्रिपरिषद्मा एमालेबाट ईश्वर पोखरेल रक्षामन्त्री र डा. युवराज खतिवडा अर्थमन्त्री बनेका छन्।

फागुन ३ गते प्रधानमन्त्रीसँगै लालबाबु पण्डित र थममाया थापाले शपथ लिएका थिए।  एमालेसँगको सहमतिअनुसार सात वटा मन्त्रालय माओवादी केन्द्रको भागमा परेको थियो ।

हामीले यहाँ बादल र यादवको परिचय समेटेको छौं।

–रामबहादुर थापा ‘बादल’
गृहमन्त्रालयको जिम्मेवारी सम्हालेका नेता बादल माओवादी केन्द्रमा तेस्रो वरियताका नेता हुन्। उनी २०६४ को संविधानसभा निर्वाचनमा चितवनबाट निर्वाचित भएका थिए।

पहिलो संविधानसभाको निर्वाचनपछि प्रचण्ड नेतृत्वमा बनेको सरकारमा उनी रक्षामन्त्री थिए। उनकै जोडबलमा प्रचण्ड सरकारले तत्कालीन प्रधानसेनापति रुकमाङगद कटवाललाई कारबाही ग¥यो। जसका कारण माओवादीको सरकार समेत ढलेको थियो। त्यसै प्रकरणमा विवादमा तानिएका नेता हुन बादल। प्रचण्ड सरकार ढलेपछि रक्षात्मक बनेको माओवादी मोहन वैद्यको नेतृत्वमा बादललगायतका नेताहरुले पार्टी फुटाएपछि माओवादी झनै कम्जोर भएको थियो।

फुटको झण्डै चारवर्षपछि उनी एउटा समूहको नेतृत्व गरेर माओवादी केन्द्रमा फर्केका थिए। उनी राष्ट्रियसभाको अध्यक्ष हुने उद्देश्यका साथ राष्ट्रियसभामा निर्वाचित भएका थिए। तर, पार्टी भित्रकै केही नेताहरुले उनलाई सरकारको नेतृत्वमा जान हौस्याएपछि उनी गृहमन्त्री बन्न सफल भएका हुन्।

 

–मातृका यादव
प्रदेश २ बाट माओवादीले यादवलाई आपूर्ति मन्त्री बनाएको छ। उनी तीनपटक सांसद र दुई पटक मन्त्री बनिसकेका छन्।

२०६५ को प्रचण्ड नेतृत्वको सरकारमा भूमिसुधार मन्त्री हुँदा उनले ललितपुरका स्थानीय विकास अधिकारीलाई शौचालयमा थुनेर विवादमा आएका थिए। उनी बनमन्त्री समेत बनेका थिए। उनी २०६७ मा माओवादी र एकता केन्द्र मशालबीच एकताभएपछि पार्टी परित्याग गरि अलग समूह सञ्चालन गरेका थिए। दुई वर्ष अघि यादव फेरी एकतामा आएका थिए।