संघीय प्रहरीले प्रदेश प्रहरीलाई निर्देशन दिन पाउनुपर्छ : आईजीपी खनाल

संघीय प्रहरीले प्रदेश प्रहरीलाई निर्देशन दिन पाउनुपर्छ : आईजीपी खनाल


काठमाडौं – प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले खुला सीमासँग जोडिएका प्रदेशहरू सुरक्षाका दृष्टिकोणले अतिसंवेदनशील भएकाले त्यसलाई ध्यानमा राखेर सुरक्षासम्बन्धी संघीय प्रहरीले प्रदेश प्रहरीलाई आवश्यक निर्देशन दिन सक्ने कानुन तय गर्नुपर्ने बताएका छन् ।

बिहीबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बाल्दै उनले खुला सीमा भएका प्रदेशहरूमा हुन सक्ने राष्ट्रिय सुरक्षामाथिको खतरालाई ध्यानमा राखेर पनि त्यस्तो अवस्थामा प्रदेश प्रहरीलाई संघीय प्रहरीको निर्देशन अनुसार अघि बढ्ने कानुनी व्यवस्था गर्न अति जरूरी रहेको  बताए ।

उनले मुलुकको भूसंवेदनशीलतालाई ध्यानमा राखेर कतिपय विषयमा प्रदेश प्रहरीले संघीय प्रहरीसँग सहकार्य गरेर अघि बढ्नुको विकल्प नरहेको बताए ।

प्रहरी महानिरीक्षक खनालले प्रदेश प्रहरीले सम्बन्धित प्रदेशको आन्तरिक सुरक्षाको जिम्मा एक्लैले लिए पनि वीरगञ्ज, भैरहवा, विराटनगरजस्ता नाकाहरूबाट आउने सक्ने राष्ट्रिय सुरक्षाको चुनौतीलाई सामना गर्न संघीय सरकारको सहकार्य र निर्देशन आवश्यक हुनेतर्फ पनि समितिको गम्भीर ध्यानाकर्षण गराए ।