मोरङको पथरीमा बस दुर्घटना,दुईको मृत्यु, २६ घाइते (अपडेट)

मोरङको पथरीमा बस दुर्घटना,दुईको मृत्यु, २६ घाइते (अपडेट)


मोरङ – मोरङको पथरी बजारमा बिहीबार बिहान यात्रु बस र र पिकअप भेन ठोक्किएर दुर्घटना भएको छ। पथरी बजारको पश्चिम पथरीखोला नजिकै बस दुर्घटनामामा पर्दा दुई जनाको मृत्यु भएको छ भने, २६ जना घाइते भएका छन् ।

एक जनाको घटनास्थलमै र एकजनाको उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनास्थलमै मृत्यु भएकाको पहिचान खुल्न सकेको छैन। इलाका प्रहरी कार्यालय पथरीका डीएसपी लक्ष्मीराज अधिकारीका अनुसार उपचारका लागि लग्दै गर्दा बसका सह-चालक कानेपोखरी गाउँपालिका-३ का ३१ वर्षीय टिकाराम थापाको बाटोमै मृत्यु भएको हो।

बसले किचिरहेको अवस्थामा घटनास्थलबाट एकजनाको शव निकालेर पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारे अस्पताल लगिएको अधिकारीले बताए। मृतकको गोजीमा ३० रुपैयाँ पैसा बाहेक कुनै पनि परिचय खुल्ने कागजात नभेटिएकाले सनाखत हुन सकेको छैन।

बिहीबार बिहान ९ बजेतिर भएको दुर्घटनामा घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ। मोरङको कानेपोखरी-३ की ६० वर्षीय दुर्गादेवी बस्नेत र कानेपोखरी-४ की ५० वर्षीया खिनमाया लिम्बूको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। बस्नेतको न्युरो र लिम्बूको नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचार भइरहेको छ। डीएसपी अधिकारीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ४८४२ नम्बरको बस र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे १ च ५३९१ नम्बरको पिकअप भ्यान ठोक्किएर दुर्घटना भएको हो।

बस मोरङको कानेपोखरी गाउँपालिकाको रमाइलोबाट काँकडभिट्टातर्फ गइरहेको थियो। भ्यानसँग ठोक्किएपछि बस अनियन्त्रित भएर सडकमा पल्टिएको थियो।
घाइतेहरुलाई उपचारका लागि स्थानीय अस्पताल र केहीलाई विराटनगर लगिएको छ। ग्रामीण भेगमा चल्ने उक्त बसमा बालबालिका, वृद्ध वृद्धा र महिलासहित ३५ बढी यात्रु रहेको प्रहरीले जनाएको छ। पिकअपमा चालक मात्रै सवार रहेका थिए। उनी पनि गम्भीर घाइते भएका छन्। उनको पहिचान खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ।