प्रधानमन्त्रीले फागुन २७ गते विश्वासको मत लिने

प्रधानमन्त्रीले फागुन २७ गते विश्वासको मत लिने


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले यही फागुन २७ गते प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यक्रम तय भएको छ । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिको आज बसेको बैठकले सो सहमति भएको संसद् सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले जानकारी दिए ।

प्रधानमन्त्रीले नियुक्त भएको ३० दिनभित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने प्रावधान संविधानको धारा ७६ (४) मा व्यवस्था छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) का अध्यक्ष तथा प्रतिनिधिसमाभा सदस्य ओलीलाई यही फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

बैठकले दुवै सदनका सभामुख र उपसभामुख तथा अध्यक्ष र उपाध्यक्षको निर्वाचनको तालिकासमेत स्वीकृत गरेको गौतमले बताए । निर्वाचन तालिकानुसार सभामुखको निर्वाचन फागुन २६, राष्ट्रियसभाका अध्यक्षको निर्वाचन फागुन ३०, उपसभामुखको निर्वाचन आगामी चैत २ र राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन चैत ४ गतेका लागि निर्धारण भएको छ ।