राष्ट्रियसभाका ५५ जना सदस्यले लिए सपथ, १ सदस्य अनुपस्थित

राष्ट्रियसभाका ५५ जना सदस्यले लिए सपथ, १ सदस्य अनुपस्थित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं-  राष्ट्रियसभाका ५५ जना सदस्यले आज पद तथा गोपनीयताको शपथ लिएका छन्।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको राष्ट्रियसभा कक्षमा आज साँझ आयोजित एक कार्यक्रममा ज्येष्ठ सदस्य तारादेवी भट्टले शपथ दिलाएकी हु्न्। केही सांसदले आ–आफ्नो मातृभाषामा शपथ लिएका छन् ।

शपथ कार्यक्रममा राष्ट्रियसभा सदस्य रमेशप्रसाद यादव भने उपस्थित थिएनन् ।

मुलुकका प्रत्येक प्रदेशबाट तीन महिला, एक दलित, एक अपांगता वा अल्पसंख्यकसहित आठ जनाका दरले राष्ट्रियसभामा प्रतिनिधित्व हुने संवैधानिक व्यवस्था रहेको छ । राष्ट्रियसभामा नेकपा (एमाले) का २७, नेपाली काँग्रेसका १३, नेकपा (माओवादी केन्द्र)का १२, राष्ट्रिय जनता पार्टी दुई र संघीय समाजवादी पार्टी नेपालका दुई जना सदस्यको प्रतिनिधित्व रहेको छ ।

शपथ ग्रहणपछि संघीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईबाट नवनिर्वाचित सांसदलाई बधाई तथा शुभकामना व्यक्त भयो। त्यसपछि राष्ट्रियसभा सदस्यलाई तोकिएको लोगो लगाउन भनिएको थियो।

सरकारको सिफारिशमा राष्ट्रपतिबाट नियुक्त भएका तीन जना सदस्यलाई भने सर्वोच्च अदालतको ‘शपथ नगराउनू’ भन्ने अन्तरिम आदेशपछि उनीहरुको शपथ रोकिएको हो ।

यसअघि ज्येष्ठ सदस्य भट्टलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आजै पद तथा गोपनीयताको शपथ दिलाएकी थिइन् । राष्ट्रियसभा सदस्यमा अहिले २१ महिला र ३५ पुरुषको प्रतिनिधित्व रहेको छ । संघीय संसद्को माथिल्लो सदनका रुपमा रहने ५९ सदस्यीय राष्ट्रियसभामा राष्ट्रको विविध क्षेत्रका बौद्धिक व्यक्तित्वहरु उपस्थिति रहने गर्छ ।

संघीय गणतन्त्र नेपालको संविधान जारी भएपछि राष्ट्रियसभा पहिलो पटक गठन भएको हो । नेपालको संविधानको धारा ८६ मा राष्ट्रियसभा गठन र पदावधिसम्बन्धी व्यवस्था रहेको छ ।

छ वर्ष कार्यकाल रहने राष्ट्रियसभाका सदस्यमध्ये एक तिहाईको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुनेछ । संविधानको धारा ८८ बमोजिम सदन वा समितिको बैठकमा भाग लिनुअघि शपथ लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ। रासस