मलाई खुसी बनाउन ओली–प्रचण्डले उपाध्यक्ष पद दिए : वामदेव गौतम

मलाई खुसी बनाउन ओली–प्रचण्डले उपाध्यक्ष पद दिए : वामदेव गौतम


काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता वामदेव गौतमले नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफुलाई खुसी बनाउन उपाध्यक्ष पद दिएको बताएका छन् ।

नेकपा सचिवालयको बिहीबार बिहान बालुवाटारमा बसेको बैठकपछि उनले आफुलाई खुसी बनाउन पार्टीमा हुँदै नभएको उपाध्यक्ष पद सिर्जना गरेर दिएको बताउँदै आफू उपाध्यक्ष हुँदा देशलाई फाइदै फाइदा हुने र जनता तथा कार्यकर्तालाई कहिल्यै निराश हुन नदिने बताए ।

उनले भने, ‘मैले वरिष्ठ उपाध्यक्ष भएर दुई कार्यकाल १२ वर्ष बिताइसकेको छु । मलाई अध्यक्षहरुले खुसी बनाउन यो पद दिएका हुन् मैंले बुझेको छु । म उपाध्यक्ष हुँदा पार्टी मात्रै होइन देशलाई नै फाइदा हुन्छ म त्यही ढंगले आफूलाई लगाउँछु काम गर्छु । यत्रो पार्टी निर्माण गर्न लागेको छु । जनताका छोरा पार्टी सदस्यहरुलाई म घर घरमा स्थापित गर्छु ।’

उनले आफू उपाध्यक्ष भएपछि पार्टी र पार्टी बाहिरको पनि लोकतन्त्र बलियो पार्ने उल्लेख गरे । ‘जसरी विरुवा हुर्काउन पोषक तत्व चाहिन्छ, त्यसैगरी म नेकपाका  कार्यकर्ताका लागि काम गर्छु’, उनले भने, ‘म उपाध्यक्ष भएपछि आन्तरिक लोकतन्त्र बाह्य पनि बलियो हुन्छ ।’ गौतमले आफू कास्की २ बाट उठ्नेबारे केही नसोचेको पनि उल्लेख गरे ।