पार्टी एकतामा कुनै धोका हुंदैन:प्रधानमन्त्री ओली

पार्टी एकतामा कुनै धोका हुंदैन:प्रधानमन्त्री ओली


काठमाडौं –प्रधानमन्त्री एवम् नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) संगको पार्टी एकतामा कुनै धोका नहुने स्पष्ट पारेका छन् ।

झापा आन्दोलनका पांच शहीदको ४५औं वार्षिक स्मृति दिवसका अवसरमा आज नेकपा एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित स्मृति सभा कार्यक्रममा उनले आफ्नो पार्टी विगतदेखि नै कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध र मुलुकको समृद्धिका लागि क्रियाशील रहेकाले पार्टी एकतालाई सावधानीपूर्वक अघि बढाउन दृढ संकल्पित रहेको बताए ।

उनले शहीदको योगदानबाट मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रको अवस्थामा आइपुगेकाले उहांहरुको आकांक्षाअनुसार मुलुकको सामाजिक न्याय र समानता तर्फको यात्रालाई सरकारले लोकतान्त्रिक विधिअनुसार पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

तत्कालीन पञ्चायत सरकारले २०२९ फागुन २१ गते झापा आन्दोलनका नेताहरु रामनाथ ढकाल, नेत्र घिमिरे, वीरेनसिंह राजवंशी, कृष्ण कुइंकेल र नारायण श्रेष्ठलाई झापा र इलामको सिमानामा पर्ने सुखानी जंगलमा लगी हत्या गरेको थियो । स्मृति सभामा एमालेका वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, झापा आन्दोलनका नेता राधाकृष्ण मैनाली, शहीद परिवारका सदस्यलगायत हुनुहुन्थ्यो ।