काठमडौं – भदौ महिनाभित्र ७७ जिल्लामा प्रशिक्षण सम्पन्न गर्ने योजनाका साथ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले देशव्यापी रूपमा प्रशिक्षण कार्यक्रम सञ्चालन सुरू गरेको छ ।
गत साउनमा काभ्रेको धुलिखेलमा सम्पन्न भएको केन्द्रीय प्रशिक्षक प्रशिक्षणमा सहभागी केन्द्रीय प्रशिक्षकहरू अहिले जिल्लास्तरीय प्रशिक्षणको निमित्त जिल्ला जिल्लामा खटिएका पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
बर्तौलाका अनुसार मोरङ, स्याङ्जा र धनकुटामा प्रशिक्षण सम्पन्न भइसकेको छ भने यो हप्ताभित्र गोर्खा, लमजुङ, झापा, बैतडी,पाँचथर,इलाम, सुनसरीको प्रशिक्षण तय गरिएको छ ।
मुलुकको पछिल्लो समसामयिक राजनीतिक अवस्था, संगठन निर्माण वर्ष–२०७६ को कार्य योजना, संगठन निर्माण र नेतृत्व विकास, सैद्धान्तिक वैचारिक पक्ष, सक्रिय सदस्यता वितरण अभियान, केन्द्रीय महाधिवेशनको तयारी, सूचना प्रविधिका विषयमा प्रशिक्षण दिइने प्रशिक्षण विभागका प्रमुख एवं पार्टी प्रवक्ता भुवन पाठकले जानकारी दिए ।
पाठकका अनुसार दाङ, बाँके, बर्दिया, कैलाली कञ्चनपुरको प्रशिक्षणको पनि मिति तय भैइसकेको छ । असोज महिनामा स्थानीय तहहरूमा प्रशिक्षण सञ्चालन गरिने छ । पार्टी अध्यक्ष कमल थापा अर्को हप्ता पार्टी कार्यक्रमको निमित्त नवलपरासी , रूपन्देही, कपिलवस्तु र मकवानपुरको भ्रमणमा जाने राप्रपा केन्द्रीय सचिवालयले जनाएको छ ।
प्रतिक्रिया