काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले शुक्रबार १७ बुँदे अन्तरपार्टी निर्देशन जारी गरेको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यकारी अध्यक्ष भएपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी गतिशील भएको हुँदै आइरहेका छन् ।
अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुरमा छन् । सचिवालय बैठकले गरेका निर्णयहरूका आधारमा अध्यक्ष प्रचण्डले हस्ताक्षर गरी जारी गरिएको निर्देशनमा विशेष राष्ट्रिय अभियान सञ्चालन गर्ने सहितका कार्यक्रमहरू रहेका छन् ।
नेकपाले करिब दुई तिहाई बहुमतको सरकार बनेपछि सरकारलाई सहयोग पुग्नेगरि संभवतः पहिलो पटक यसरी सार्वजनिक अभियानमा पार्टीलाई उतार्न लागेको हो ।
‘अब पार्टीले समस्त नेता, कार्यकर्ता एवं सदस्यहरूलाई जनतासँग जोड्ने र आम जनसमुदायलाई सरकारद्वारा सञ्चालित विकास, समृद्धि र सामाजिक न्यायसहितको महाअभियानसँग जोड्ने गरी विशेष राष्ट्रिय अभियान सञ्चालन गर्नेछ’, निर्देशनमा भनिएको छ ।
पार्टी एकता भएको १५ महिनामा नेकपाले जारी गरेको यो दोस्रो अन्तरपार्टी निर्देशन हो । निर्देशनमा पार्टी एकताको क्रममा नेताहरूले पाएका जिम्मेवारीका साथै आगामी कार्यक्रम उल्लेख गरिएको छ ।
प्रतिक्रिया