मुलुकको व्यवस्था डामाडोल, सबै दल मिल्नुको विकल्प छैन : लक्ष्मणलाल कर्ण

मुलुकको व्यवस्था डामाडोल, सबै दल मिल्नुको विकल्प छैन : लक्ष्मणलाल कर्ण


काठमाडौं—राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेता तथा संसदीय सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्णले पछिल्लो समय संघीयता, गणतन्त्र र धर्मनिरपेक्षमाथि समस्या आएको बताएका छन्। उनले भने,‘मुलुकमा छिटो–छिटो परिवर्तन भएको छ । अहिले राजा आउ, देश बचाउ भनेको पनि सुनियो । यसलाई अन्यथा लिनुहुँदैन।’

मुलुकमा संघीयता आएको भएपनि आएकै दिनदेखि यो व्यवस्थाको विरोध गर्नेहरु आजपनि सक्रिय रहेको उनको भनाई छ । संघीयता कार्यान्वयन हुन नसके मुलुक फेरि जोखिममा पर्ने कर्णले खतरा औंल्याए । यद्धपी उनले संघीयता परिवर्तनशील विषय भएको पनि सुनाए ।
तर, संघीयतालाई सुरुवातमै लंगडो बनाइएको उनको गुनासो छ ।

शनिबार राजधानीमा भएकाे साक्षात्कारमा बोल्दै उनले भने,‘सिद्धान्ततः संघीयता धेरै राम्रो छ । तर, हामीले संविधानमा लेखेका कुरापनि पालना गरेनौं । अहिले प्रहरी पोशाकपनि केन्द्रबाट नै बनाउने भनिएको छ । यो भनेको ठूलो कमिशनको खेल हो । अहिलेपनि जनप्रतिनिधिहरुले काम गर्न नसकेको गुनासो छ ।’

मुलुकमा भ्रष्टाचार मौलाएकोप्रति आपत्ति जनाउँदै उनले सरकार निर्मम रुपमा प्रस्तुत हुनुपर्ने माग गरे । उनले भने,‘अख्तियारले अहिले गाउँपालिकाका साना तिना भुरा माछाहरु समातेको छ । अहिलेसम्म संघका एक जना मन्त्री पनि समात्न सकेको छैन् । ठूला माछा समात्यो भने आफ्नै जागिर जान्छ भन्ने डर अख्तियारका मान्छेलाई परेको छ ।’

कर्णले मुलुकको व्यवस्था नै अहिले डामाडोल भैरहेकोप्रति गुनासो पोखे । उनले भने,‘अहिले देशमा राष्ट्रिय नेता नै कोही छैन् । नेताहरुले आफ्नो क्षेत्रको मात्रै चिन्ता गर्छन् ।’ उनलेपनि दलहरु राष्ट्रिय मुद्दामा मिल्नुको विकल्प नभएको सुझाए । उनले भने,‘अहिले हामी धेरै पछि परिसक्यौं । जनताबाट आलोचनाको शिकार बनेका छौं । अब सोच्ने बेला आएको छ ।’

उनले पार्टी एकता हुनु राम्रो कुरा भएको सुनाउँदै मिल्नुभन्दा अगाडि धेरै छलफल गर्नुपर्ने बताए । उनले भने,‘अहिले एकता गरेर पछाडि पछुताउने काम गर्नुहुँदैन् ।’ उनले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपनि पार्टी एकता गरेकोमा पछुताएको सुनाउँदै एकतापूर्व धेरै पटक सोच्नुपर्ने बताए । उनले भने,‘पार्टी एकताअघि हामीबीच ठोस रुपमा र सशक्त छलफल हुनुपर्छ ।’