सिंगापुरबाट फर्केपछि प्रधानमन्त्रीले मन्त्री फेर्दै, सरकारलाई सशक्त बनाइने

सिंगापुरबाट फर्केपछि प्रधानमन्त्रीले मन्त्री फेर्दै, सरकारलाई सशक्त बनाइने


काठमाडौं – स्वास्थ्य उपचारका क्रममा सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै प्रेस सल्लाहकार कुन्दन अर्यालले आईतबार ट्विटरमा लेखेका छन्, ‘सम्माननीय प्रमको प्लाजा फेरेसिस प्रक्रियाबाट मृगौलासम्बन्धी एन्टबडीलाई निराकरण गर्ने उपचार जारी छ । प्रमसँगै रहनुभएका उहाँका निजी चिकित्सक डा. दिलिप शर्माका अनुसार सोमबार छैठौं र  बुधबार सातौं चरणको प्रक्रिया सम्पन्न भएसँगै उपचार पूरा हुनेछ । प्रमको स्वास्थ्य अवस्था सामान्य छ ।’

ट्विट अनुसार बुधबार प्रधानमन्त्रीको उपचार पूरा हुनेछ । त्यसपछि प्रधानमन्त्री ओली भाद्र २० मा स्वदेश फर्किने छन् । प्रधानमन्त्री ओली छोटो समयमै उपचारका लागि सिंगापुर गएका छन् ।

यसअघि गत साउन १८ गते उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री ओली २७ गते स्वदेश फर्किएका थिए । साउनमा सिंगापुरबाट फर्किएपछि प्रधानमन्त्री ओलीले पार्टीको महत्वपूर्ण काम ठानिएको विभागको जिम्मेवारी बाँडफाँड गरे भने सरकारका सचिवको समेत हेरफेर गरे । त्यतिमात्र होईन सरकारको आलोचना गरिरहेका नेता वामदेव गौतमलाई संगठन विभागको प्रमुखका साथै पार्टी उपाध्यक्षमा बनाउने प्रस्ताव गरे । वरियतामा पछि रहेका झलनाथ खनाललाई भावि राष्ट्रपति बनाउने वचन दिनुका साथै वरियतामा तेस्रो नम्बरमा राख्ने निर्णय गराउन सफल भए । पार्टीका अध्यक्ष प्रचण्डलाई पनि उनले सहमति कार्यान्वयन गर्ने वचन दिएका छन् । 

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शक्तिशाली सरकारको नेतृत्व प्रधानमन्त्री ओलीले गरेका छन् । ओलीले पार्टीको समेत नेतृत्व गरिरहेका छन् । तसर्थ ओलीमाथि पार्टी एकता टुंग्याउने र सरकारको कामकारवाही प्रभावकारी बनाउने जिम्मेवारी छ । जसको शुरूवात प्रधानमन्त्री ओलीले साउनमा सिंगापुरबाट फर्केपछि गरिसकेका छन् ।

दोस्रो इनिङको दोस्रो वर्ष

प्रधानमन्त्री केपी शर्मा ओली दोस्रो पटक प्रधानमन्त्री भएर सरकारको दोस्रो वर्ष चलाइरहेका छन् । ओलीले पहिलोपल्ट २०७२ असोज २४ गतेदेखि २०७३ साउन ९ गतेसम्म सरकारको नेतृत्व गरेका थिए । उनी दोस्रो पटक २०७४ फागुन ३ गते प्रधानमन्त्री नियुक्त भएका हुन् । 

ओली सरकारले पहिलो वर्षलाई नीति निर्माणको वर्षका रुपमा लियो । नयाँ संविधान बनेपछि कतिपय ऐन नियम बनाउनुपर्ने भएकाले नीति निर्माणमा अल्झिँदा पर्याप्त काम गर्न नसकेको बताउने गरिएको छ । सरकारले अपेक्षा अनुसार काम गर्न नसकेको भनेर आलोचना समेत भइरहेको छ ।

नीति निर्माणको एक वर्ष सकिएको छ । अब सरकारले काम गरेर देखाउनुपर्ने भएको छ । काम देखाउन राजनीतिक नेतृत्व, मन्त्रीहरू र प्रशासनिक नेतृत्व सचिव लगायत कर्मचारीहरू तयार हुनुपर्छ । प्रधानमन्त्री ओलीले सरकारका कामलाई परिणाममुखी बनाउन सचिव हेरफेर गरिसकेका छन्, अब सिंगापुरबाट फर्किएपछि केही मन्त्री परिवर्तन गरेर सरकारका कामलाई प्रभावकारी बनाउने तयारी रहेको निकट स्रोतको दावी छ । 

स्रोतका अनुसार प्रधानमन्त्री स्वदेश फर्किएलगत्तै पहिलो वर्ष कमजोर प्रदर्शन गरेका केही मन्त्री बर्खास्त हुनेछन् भने केही मन्त्री थपिने छन् । केही मन्त्रीको जिम्मेवारी समेत हेरफेर गर्ने प्रधानमन्त्रीको तयारी छ । 

मन्त्री फेरिने चर्चा पटक–पटक चल्ने गरेपनि फेरबदल भएको छैन । मन्त्री नफेरी सरकारको काम प्रभावकारी नहुने निष्कर्षसहित प्रधानमन्त्री ओलीले मन्त्री फेर्ने तयारी गरेको स्रोतको दाबी छ ।

मन्त्री फेरबदल सँगसँगै प्रधानमन्त्री ओलीले विभिन्न विश्वविद्यालयमा उपकूलपति नियुक्त गर्ने, संवैधानिक निकायका सदस्य नियुक्त गर्ने र रिक्त रहेका देशमा राजदूत सिफारिस गर्ने जनाइएको छ । शान्तिसुरक्षामा समेत पटक–पटक प्रश्न उठ्ने गरेकाले प्रधानमन्त्री ओलीले सुरक्षा निकायका उच्च अधिकारी परिवर्तन गर्ने विषयमा समेत तयारी भइरहेको छ ।

प्रचण्डलाई पार्टी सुम्पिने

प्रधानमन्त्री ओली स्वदेश फर्किएपछि पूरै सरकारको प्रभावकारितामा केन्द्रित हुने बताइएको छ । ओलीले नेकपालाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुम्पिएर एकल अध्यक्ष बनाउने तयारी समेत गरेका छन् । स्थायी कमिटी बैठक बेलाएर प्रचण्डलाई नेकपाको एकल अध्यक्ष बनाउने र आफू सरकारमै केन्द्रित हुने ओलीको तयारी छ ।

पार्टी एकता हुँदा समेत उचित जिम्मेवारी बाँडफाँड गर्ने भनेर भएको सहमति सहमति यसअघि नै सार्वजनिक भएको थियो । सहमति अनुसार ओलीले प्रधानमन्त्री पद प्रचण्डलाई हस्तान्तरण गर्नुपर्ने भएपनि प्रचण्डले आफूले पार्टीको पूर्ण जिम्मेवारी पाएमा ओली नै पाँच वर्ष प्रधानमन्त्री बन्नसक्ने बताइसकेका छन् । पार्टीको एकल नेतृत्व सुम्पिने गरी सिंगापुर जानुअघि ओलीले प्रचण्डलाई बैठक बसाएर निर्णय गर्न सक्ने र पार्टी एकता टुंग्याउन सक्ने गरी जिम्मेवारी दिएर गएका छन् । यसबीच ओलीको अनुपस्थितिमा प्रचण्डले आफ्नो अध्यक्षतामा पार्टी सचिवालय बैठक समेत बोलाएका छन् ।

प्रतिनिधिसभा निर्वाचनताका नेकपाको घोषणापत्रमा जनतालाई थुप्रै आश्वासन बाँडिएका थिए । ती आश्वासन पूरा गर्न नसकिएमा नेकपाप्रति भरोसा मर्ने खतरालाई प्रधानमन्त्री ओलीले संवेदनशील रुपमा लिएर सरकारको कामकारवाही प्रभावकारी बनाउनतिर ध्यान दिने तयारी गरेको चर्चा नेकपाभित्र चलेको छ ।