भरतपुर – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतामा निराशा बढेकाले अब एक्सनमा उत्रीनुपर्ने बताएका छन् ।
बुधबार भरतपुर महानगरपालिकाले गरेको ‘भरतपुर विमानस्थल विस्तार एवम् सुधार’ सम्बन्धमा सरोकारवाला बीचको अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले हरेक क्षेत्रमा एक्सनका साथ काम गर्दै देशमै रोजगार सृजना गरेर युवालाई आस्वस्त पार्नुपर्ने समय आएको बताए ।
उनले चितवनलाई नयाँ मोडेलको रुपमा विकास गर्न खोजेको भन्दै केही तत्वहरु जनतालाई भ्रम पार्न र विकासको विरोधमा लागिपरेको आरोप लगाए । अध्यक्ष प्रचण्डले जनतालाई निराश हुन नदिन हरेक क्षेत्रमा एक्सनमा गएर काम गर्नुपर्ने बताए ।
उनले भने, ‘तीव्ररुपमा विकास गर्न सकिएन भने जनतामा बेचैन बढेर जाने खतरा छ, त्यसलै छिटो काम गरेर नेपाल विकासको युगमा गयो भन्ने सन्देश दिन जरुरी छ ।’
‘काठमाडौंको वैकल्पिक विमानस्थलको रुपमा भरतपुर विमानस्थलको विस्तार गर्नुपर्छ’ उनले भने’, ‘नवलपरासी, मकवानपुर, तनहुँ, गोरखा र धादिङको केन्द्र पनि भरतपुर हो ।’
प्रतिक्रिया