एजेन्सी – केही महिनाअघि मात्रै सत्तामा आएका बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले संसदमा लगातार असफलता प्राप्त गरेका छन् । बिना सम्झौता बेलायत युरोपबाट बाहिरिने (नो–डिल ब्रेक्सिट) लाई मार्ग प्रशस्त गर्ने कानून पारित गराउने प्रयासमा असफल भएका प्रधानमन्त्री जोन्सनले गरेको आम चुनावको प्रस्ताव पनि असफल भएको छ ।
सत्तारुढ पक्ष ट्रोयका केही सांसद तथा विपक्षी सांसदले आफूले ल्याएको विधेयक पारित हुन नदिएपछि प्रधानमन्त्री जोन्सनले आम चुनावको प्रस्ताव संसद (हाउस अफ कमन्स) मा पेश गरेका थिए । तर त्यो प्रस्ताव पनि असफल भएको छ । ब्रिटेनमा समयअगावै आमनिर्वाचन गराउने प्रधानमन्त्री बोरिस जोनसनको प्रस्ताव सांसदहरूले अस्वीकृत गरेका छन्।
बुधवार हाउस अफ कमन्समा भएको मतदानमा निर्वाचनको पक्षमा आवश्यक दुईतिहाइ मत ल्याउन प्रधानमन्त्री विफल भएका हुन्। पक्षमा २९८ मत खसेको थियो भने विपक्षमा ५६ मत खसेको थियो। सरकारले कुल ४३४ मत ल्याउनुपर्ने थियो। प्रधानमन्त्री जोनसनले आउँदो अक्टोबर १५ तारिखमा आमनिर्वाचन गराउने प्रस्ताव गरेका थिए।
सांसदहरूले सहमतिबिनाको ब्रेक्जिट रोक्न सक्ने विधेयक पारित गरेपछि आमनिर्वाचनका लागि प्रधानमन्त्री जोनसनले संसद्मा प्रस्ताव प्रस्तुत गरेका थिए। यसअघि सांसदहरूले सहमतिबिनाको ब्रेक्जिट विलम्ब गर्ने विधेयक पारित गरेका थिए। हाउस अफ कमन्समा बुधवार नै सम्पन्न मतदानमा पक्षमा ३२७ मत खसेको थियो भने विपक्षमा २९९ मत खसेको थियो।
प्रधानमन्त्री जोनसनले उक्त विधेयकलाई “आत्मसमर्पण गराउने विधेयक“को सङ्ज्ञा दिएका छन्। बुधवार नै ब्रेक्जिट विलम्ब गर्नुपर्ने प्रस्ताव गरिएको विधेयक पहिलो मतदान प्रक्रियाबाट पारित भएको थियो। एसएनपी तथा लिबरल डेमोक्र्या्टिक पार्टीले पनि नो डिल ब्रेक्सिटका लागि बाध्य पार्न प्रधानमन्त्री जोन्सनले गरिरहेको प्रयासको विरोध गरेका छन् ।
जोन्सनका समर्थकले भने पछिल्लो दुई वर्षदेखि आम चुनावको माग गरिरहेका विपक्षीहरुले त्यसको वास्तविक प्रस्ताव आउँदा विरोध गरेको भन्दै आलोचना गरेका छन् । जोन्सनले आउँदो अक्टोबर १५ मै आम चुनाव होस् भन्ने चाहेका छन् । चुनाव सम्बन्धी प्रस्ताव पारित हुन दुई तिहाई सांसदको मत अर्थात ४३४ मत चाहिन्छ ।
प्रतिक्रिया