अमेरिका र उत्तर कोरियाबीच वार्ताको पहल गर्दै दक्षिण कोरिया

अमेरिका र उत्तर कोरियाबीच वार्ताको पहल गर्दै दक्षिण कोरिया


सोल – अमेरिका र उत्तर कोरियाबीच आगामी केही दिनमा वार्ताको वातावरण तयार पार्नका लागि भन्दै मध्यस्थता गर्न उत्तर कोरिया पुगेका दक्षिण कोरियाली विशेषदूतले उत्तर कोरियाका नेतासँग भेटवार्ता गर्ने भएका छन् ।

दक्षिण कोरियाका राष्ट्रपति मुन जाई–इनका विशेषदूतका रुपमा सोमबार विशेष विमानमार्फत उत्तर कोरिया पुगेका उनले उत्तर कोरियाली नेता किम जोङ उनसँग भेटवार्ता गर्ने र उनसँग रात्रिभोजमा पनि सहभागी हुने कार्यक्रम रहेको बताइएको छ ।

आणविक हतियार विवादलाई समाधान गर्ने उद्देश्यका साथ दक्षिण कोरियाली राष्ट्रपति मुनका राष्ट्रिय सुरक्षा सल्लाहकार तथा राष्ट्रपतिको कार्यालयका राष्ट्रिय सुरक्षा प्रमुख युइ–योङ त्यहाँ पुगेका छन् ।

उहाँले नेतृत्व गर्नुभएको उक्त भ्रमण दलमा दश जना सदस्य रहेका छन् । उनिहरु सिओङनामबाट विशेष विमानमार्फत त्यहाँ पुगेका हुन् ।

दक्षिण कोरियाका राष्ट्रपतिका प्रवक्ता किम इयु क्योमले सोमबार गर्नुभएको पत्रकार सम्मेलनमा भने, ‘दक्षिण कोरियाका विशेषदूतको टोली आज नै उत्तर कोरिया प्रस्थान गरिसकेको छ र सोमबार नै साँझ छ बजे उहाँहरुले उत्तरका नेतासँग रात्रिभोज गर्नुहुने छ ।’

सोमबार नै उक्त प्रतिनिधिमण्डलले उत्तर कोरियाली नेता किमसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको पनि उक्त पत्रकार सम्मेलनका क्रममा प्रवक्ता क्योमले जानकारी दिए ।

विशेष दूतले उत्तर कोरियाली अधिकारीसँग अमेरिका, विश्व समुदाय तथा दुई कोरियाली मुलुकको आपसी हितका विषयमा विभिन्न चरणमा गरिने वार्ताका लागि वृहत् छलफल गर्ने बताए ।

त्यसैगरी दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्ल्यु हाउसले उक्त प्रतिनिधिमण्डलको मुख्य उद्देश्य प्योङयाङ र वासिङटनबीचको वार्ताका लागि मध्यस्थता गर्ने रहेको सङ्केत गरेको छ ।

साथै प्रतिनिधिमण्डलले उत्तर कोरियाली नेता किमलाई भेट्ने र आवश्यक परामर्श गर्नुका साथै पछिल्लो समयमा विकसित भएको सम्बन्ध सुधारका केही कार्यक्रमहरुमा थप बल पुर्‍याउने रहेको पनि समाचारमा जनाइएको छ ।

हालैमात्र पनि उत्तर कोरिया दक्षिण कोरियासँग विनाशर्त वार्ता गर्न इच्छुक रहेको कुरा बाहिर आएको थियो । तर त्यस विषयमा दक्षिणको कुनै प्रतिक्रिया भने आएको छैन ।

यही फेब्रुअरी ९ देखि १८ सम्म दक्षिण कोरियामा सम्पन्न भएको ओलम्पिक खेलकूदमा यी दुई देशका प्रतिनिधिको सहभागिताबाट सम्बन्धमा पछिल्लो समयमा केही सुधार आएको महसुश गरिएको छ ।
यस खेलकूदको उद्घाटन र समापन समारोहका क्रममा उत्तर कोरियाले आफ्नो देशको तर्फबाट उच्चस्तरीय प्रतिनिधि दक्षिण कोरिया पठाएको थियो ।

ती प्रतिनिधिहरुबाट भएका वार्ता र भ्रमण आदानप्रदानबाट यी दुई देशबीच सम्बन्धमा सुधार आएको पाइएको समाचारमा जनाइएको छ ।

यसै खेलकूदका समयमा विकसित सम्बन्धका कारण उत्तर कोरियाले दुई देशबीच उच्चस्तरीय बैठकका लागि प्रस्ताव गरिसकेको छ । तर सो बैठक अहिले नै गर्नु अलिक चाँडो हुनसक्ने प्रतिक्रिया राष्ट्रपति इनले दिए ।
एजेन्सीको सहयोगमा