यशोदाको छातिमा ताण्डप नृत्य कहिले सम्म ?

यशोदाको छातिमा ताण्डप नृत्य कहिले सम्म ?


-बलराम राेकाया

काठमाडौं – अछामको शैक्षिक ईतिहासमा तात्कालिन छबिस (हाल रामारोशन) को शान र मानको रुपमा रहेको यशोदा, पृथ्वी नारायण शाहले भने झैँ “मेरा साना दुःखले अज्र्याको मुलुक होईन, सबैकी चेतना भया” तात्कालिन तडिगैरा हाल रामारोशन–५ का थुप्रै अग्रज पुर्खाहरुको अथक मेहनत, विरतापूर्ण त्याग, निस्वार्थ लगाव र अविचलित कठिन संघर्षको जगमा मात्र खडा हुन पुगेको हो । हार्दिक नमन ती तमाम श्रद्धावान पुर्खाहरुलाई ! जसले अनेकौँ हण्डर सहेर यशोदालाई यहाँसम्म ल्याई पु¥याए ।

नेपालमा प्रजातन्त्रको पुनर्वहाली पश्चात् वि.सं. २००९ साल तिर हालको यशोदा उमावि रहेको नेटाकोटको तलतिर गैराडाँडा भन्ने ठाउँमा स्थापना भएको यशोदा त्यसको केहि समय पश्चात् हाल रामारोशन–३ शान्ताडाको मौवाडाँडामा नन्दा प्राविको नामबाट सञ्चालित भयो । तत्पश्चात् वि.सं. २०१५-०१६ साल तिर तात्कालिन तडिगैरा राजदरबार तलतिर गोत्ताला भन्ने ठाउँमा श्री निलकण्ठ गोत्ताला प्राविको नाममा करिबपन १६ बर्ष सम्म सञ्चालनमा रहेको यस विद्यालयले तात्कालिन समयका थुप्रै (क्षमा चाहन्छु यशोदाको जन्मदाताहरुको संख्या धेरै भएकोले नाम उल्लेख गर्न सकिँन ।

तीँ महान हस्तीहरुलाई अर्को लेखमा समावेश गर्नेछु) अग्रजहरुको योगदान स्वरुप निमावि तहको स्वीकृति पश्चात् भूगोलको अभावका कारण लगभग वि.सं. २०३२ सालतिर हालको विद्यालय हाताभित्र यशोदा निमाविको नाममा स्थापित भएको हो । जाज्वल्यवान शैक्षिक ईतिहास बोकेको यशोदा यतिखेर विकृत राजनैतिक संस्कारको कुहिरोमा कताकता हराए जस्तो छ । ओझेल छ यशोदाको बहुआयामिक महत्व रामारोशनमा । पुर्खाले बख्शिष स्वरुप नयाँ पीँढीलाई हस्तान्तरण गरिदिएको विरासतलाई तथाकथित राजनीतिक भागबण्डको आवरणमा कमाइ खाने भाँडो बनाए यशोदालाई ।

यो अत्यन्त खेदजन्य प्रवृति हुँदै हो र साथमा त्यत्तिकै दुर्भाग्यपुर्ण विषय पनि । सूचना प्रविधिको सहज पहुँचको कारण तारनतार रैवारहरु सुन्दैछु यतिखेर यशोदा बारेका । हर दिन हर साँझ मद्यपान सेवनको मैमत नसामा मातिएका झुण्डहरुका सभाहरु टोलटोलमा आयोजन हुँदैछन् रे । जातिय, वर्गिय, भेगिय र राजनैतिक गुट उपगृटका अग्रिम भोज भतेरहरु र त्यसमा सामेल स्वघोषित तथाकथित ठालुहरुद्धारा बुनिएका निरर्थक तानाबानाहरु सुन्दा लाग्छ, वयलगाडी चालकहरुको सर्वोतम् शासन प्रणाली, संंसदीय निर्वाचन हुँदैछ पो छ कि यशोदामा ?

जहाँ करोडौ रुपैया कमिशन बाँडफाँड हुनेवाला छ र बदलामा पाउनेछ यशोदाले क्षमतावान, दुरदर्शी, वौद्धिक, ईमान्दार एवं सत् चरित्रवान नेतृत्व । र त विवेकमा बिर्को र दृष्टिमा पट्टि बाँधेर लगाम विनाको घोडामा सवार हुने धृष्टता गरिरहेछन्, टोले ठालुहरु ! प्रसंग हो रामारोशन गाउँपालिका वडा नं. ५ नेटाकोट स्थित श्री यशोदा उच्च माध्यामिक विद्यालयको आसन्न व्यवस्थापन समितिकोे नयाँ कार्य समिति चयनको ।
ओ महाशयहरु ! खबरदार ! एकफेर वौद्धिकता अनि नैतिकताको ऐनामा आफैलाई उभाएर त हेर ! तिमि त्यो जिम्मेवारी वहन गर्न सक्ने सामथ्र्य राख्छौ कि राख्दैनौँ ? यदि राख्छौ भने विधालय व्यवस्थापकिय सुधारको दृष्टिकोण के हो ? योजना, कार्ययोजना के हो ? स्पष्ट पार । प्रायः मागेर गुजारा चलाउने केहि पात्र यशोदाकै नाम भजाएर शहरमा घर घरेडी जोड्न सपल भए ।

तीँ पात्रहरु भन्दा फरक हुनसक्ने नैतिक आधार के ? आम अभिभावक समक्ष सार्वजनिक गर । सर्वव्यापी समर्थन मिल्नेछ । राख्दैनौँ भने रामारोशनका हजारौँ भावि सन्ततीको भविष्य माथि खेलबाड गर्ने छुट तिमलाई कदापि छैन । हेक्का रहोस् ! यो रामारोशन बासीको चेतावनी पनि हो । अराजक राजनीति प्रवृतिको खोल ओढेर यशोदाको छातिमा ताण्डप नृत्य गर्ने अधिकार कसले दियो तिमीलाई ? अथाह कमिशनको प्रलोभनमा मालिक रिजाएर ठेगेदारी गरेँ भन्दैमा हाम्रा बालबालिकाको भविष्य सँग जोडिएको शिक्षा जस्तो संवेदनशिल क्षेत्रलाई अराजक एवं गैर जिम्मेवार भिडहरुको क्रिडा स्थल बनाउन मिल्दैन । भो अब बन्द गर तिम्रा समाज बिखण्डन गर्ने घृणित खेलहरु ।

फेरि अर्को मगन्तेलाई शहरमा बसाईँसराई गराउनमा सिमित होईन आगामी दश बर्षमा यशोदालाई गुणस्तरिय स्नातकोत्तर क्याम्पसको रुपमा स्तरोन्नती गर्ने क्षमता भएको दुरदर्शी व्यवस्थापक चाहिएको हो यशोदामा, ताकि रामारोशनका भावि सन्ततीलाई माध्यामिक शिक्षा उत्तिर्णको सर्टिफिकेट खोपीमा थन्काएर भारतको गल्लि चहार्न नपरोस् ! पुर्खाहरुको योगदानले गाउँमै उच्च शिक्षा हाँसिल गरेका हाम्रा सन्तानहरु किन वेरोजगार छन् ? करिबपन ७० बर्ष लामो गरिमामय ईतिहास बोकेको यशोदाको शैक्षिक गुणस्तर सुधारको सट्टा किन दिनानुदिन खस्किँदो अवस्थामा छ ? किन उच्च शिक्षा प्राप्त नागरिकको परिवार, गाउँ र समाज प्रति चासो छैन ? किन यशोदाको उत्पादनले गाउँमा नभई विदेशमा भविष्य देख्छ ?

किन समाजवाद उन्मुख राज्य व्यवस्थाको दुहाई दिने वर्तमान सरकारको लोकप्रिय नारा “समृद्ध नेपाल सुखी नेपाली” ले गिज्याउँदैछ ? एकथान संविधानमा मौलिक हकको रुपमा स्थापित शिक्षाबाट आज पर्यन्त किन बञ्चित छन् रामारोशनका दलित एवं विपन्न समुदायका दर्जनौँ बावालिकाहरु ? अनुपम प्राकृतिक सुन्दरताको खानी भूस्वर्ग रामारोशनबारे वौद्धिक एवं शिक्षित भनाउँदाहरुको चासो किन छैन ? किन समाजको मेरुदण्ड युवायुवतीको पुस्ता धमाधम गाउँ छोड्दैछन् ? र प्रायः वयोवृद्ध आमाबुबा किन विवश छन् परिवार भएर एक्लै बस्न ?

बहसको पाटो यो होइन र महाशय ?
यीँ तमाम यक्ष प्रश्नको हल नगरी कोही अमुक पात्र आउँदैमा यशोदाको यशोगान हुन असम्भव छ । तसर्थ, आउँ काँधमा काँध र हातमा हात मिलाएर यशोदालाई जिल्लाकै नमूना विद्यालय बनाउने अभियानमा सहभागी बनौँ । चाहे त्यो राजनीतिज्ञ होस् या समाजसेवी । सरकारी उच्च पदस्थ कर्मचारी होस् या शिक्षक । अग्रज वयोवृद्ध हुन् या नौजवान युवायुवती । वौद्धिक, कवि, कलाकार, कृषक, व्यापारी होस् या समग्रमा रामारोशनको चिन्ता चासो गर्ने हरेक सचेत नागरिकले एकपटक दिमाखमा डेरा जमाएर बसेको तुच्छ सोचलाई तिलाञ्जली दिएर यशोदा बचाउन नलाग्ने हो भने, “न रहनेछ बाँस न बज्नेछ बाँसुरी” समय छदै चेत खुलोस् ! दुई चार सिता जुठो भातमा बिक्ने भाटहरु नभई आलोचनात्मक चेत भएका सचेत नागरिकहरुको पनि रामारोशनमा वर्चश्व छ भन्ने कुराको बोध गराउँदै यशोदाको अकिंचन शिष्य हुनुको गर्वबोध सँगै समग्र रामारोशनको श्रीवृद्धिको बारेमा चासो गर्ने सचेत नागरिकको हैसियतले पूर्व सन्ध्यामा हार्दिक शुभेच्छा !