कास्की-२ बाट चुनाव नलड्ने वामदेवको घोषणा

कास्की-२ बाट चुनाव नलड्ने वामदेवको घोषणा


काठमाडौं— नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले आगामी मंसिरमा हुने उपनिर्वाचनमा कास्की—२ बाट उम्मेदवार नबन्ने घोषणा गरेका छन्।

नेकपाको शनिबार सचिवालय बैठकमा गौतमले कास्की २ मा रिक्त रहेको प्रतिनिधिसभा सदस्य पदका लागि उमेदवार नदिने जानकारी गराएको बताएका छन् ।

उनले जानकारीका लागि भन्दै सामाजिक सञ्जालमार्फत् यस्तो धारणा राखेका छन् । कास्की २ बाट विजयी तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीको गत फागुनमा निधन भएपछि रिक्त रहेको उक्त स्थानमा मंसिर १४ गते उपनिर्वाचन हुँदैछ।

यसअघि नेकपामा गौतमलाई उमेदवार बनाउने चर्चा चलेको थियो ।, गौतमले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘मलाई त्यहाँबाट निर्वाचनमा भाग लिन अनुरोध गर्नुहुने हाम्रो पार्टीका आदरणीय अध्यक्षद्वय कमरेडसहित पार्टीका समस्त सहयोद्धाप्रति हार्दिक आभार प्रकट गर्दछु। आज बसेको हाम्रो पार्टीको सचिवालय बैठकलाई मैले आफू कास्की जिल्लाको रिक्त प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी नदिने जानकारी गराएको छु।’

यस्ताे छ नेता गाैतमले जारी गरेकाे विज्ञप्ति

मेरा समस्त शुभचिन्तक महानुभावलाई जानकारीका लागि-
आज बसेको हाम्रो पार्टीको सचिवालय बैठकलाई मैले आफू कास्की जिल्लाको रिक्त प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी नदिने जानकारी गराएको छु । मलाई त्यहाँबाट निर्वाचनमा भाग लिन अनुरोध गर्नुहुने हाम्रो पार्टीका आदरणीय अध्यक्षद्वय कमरेड सहित पार्टीका समस्त सहयोद्धाप्रति म हार्दिक आभार प्रकट गर्दछु ।

यसअघि (२०७४ मा) प्रतिनिधिसभा सदस्य पदका लागि आफ्नो पुरानो निर्वाचन क्षेत्र बर्दिया- १ बाट उम्मेदवार भएको यहाँहरुमा विदितै छ । उक्त निर्वाचनमा तत्कालीन वाम गठबन्धनसँग विपक्षीको तुलनामा ३२ हजार मत बढी थियो । तर, म पराजित हुनुपर्यो । त्योभन्दा अत्यन्त कम मतान्तर रहेको कास्कीमा निर्वाचन उठ्नु भनेको म फेरि पराजित हुनु हो ।

तर मलाई विश्वास छ म भन्दा अरुकोही स्थानीय कमरेड उठनु हुदा सहजै विजय प्राप्त गर्र्न सक्नु हुनेछ। कास्कीको निर्वाचनमा त्यहाँका स्थानीय कमरेडहरु उम्मेदवारीका निम्ति पहिलो हकदर हुनुहुन्छ । यसर्थ म कास्कीलाई कार्यक्षेत्र बनाएर पार्टी काम गरिरहनु भएका कमरेडमध्येबाट उम्मेदवार हुनुपर्ने कुरामा आफ्नो स्पष्ट अडान पेश गर्दछु ।
वामदेव गौतम
४ आश्विन २०७६