कांग्रेसले बोलायो कार्यसमिति बैठक

कांग्रेसले बोलायो कार्यसमिति बैठक


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । असोज १० गते बस्ने बैठकमा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमसँग भएको पार्टी एकीकरण सम्बन्धमा, भ्रातृ एवं शुभेच्छुकको विधानलगायत विषयमा छलफल हुने बताइएको छ ।

बैठकमा दोस्रो चरणको ‘हिमाल, पहाड, तराई नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’को समीक्षा र समसामयिक राजनीतिक विषयमा समेत छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् । पार्टीले यसअघि उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा नेपाल लोकतान्त्रिक फोरमका साङ्गठनिक संरचना संयोजन समिति गठन गरेको थियो ।

नेपाली कांग्रेसले गत भदौ १७ गते सम्पन्न पार्टीको केन्द्रीय कार्यसमिति बैठकबाट भ्रातृ एवं शुभेच्छुक संस्थाको विधानको मापदण्ड तयार गरेर सैद्धान्तिक विषयमा एकरूपता गर्ने सम्बन्धमा आवश्यक गृहकार्य गर्न सुझाव समिति गठन गरेको थियो ।

पार्टीका केन्द्रीय सदस्य एनपी साउदको संयोजकत्वको सो समितिमा केन्द्रीय सदस्य नवीन्द्रराज जोशी, ईश्वरी न्यौपाने, श्यामकुमार घिमिरे, गोविन्द भट्टराई, गुरुराज घिमिरे र प्रदीप पौडेल सदस्य रहेका छन् । नेपाली कांग्रेसले गत भदौ २४ गतेदेखि प्रारम्भ गरेको जागरण अभियान यही असोज ७ गते समापन हुँदैछ ।