साझा पार्टीको केन्द्रिय समितिमा थपिए केसी र पाठक

साझा पार्टीको केन्द्रिय समितिमा थपिए केसी र पाठक


काठमाडौं – साझा पार्टीको केन्द्रिय कार्यसमिति बैठकले आफ्नो केन्द्रीय समितिमा दुईजना नयाँ सदस्य थपेको छ ।सोमबार केन्द्रिय कार्यालय बखुण्डोलमा बसेको बैठकले नयाँ सदस्यहरू रजनी केसी र शरदराज पाठकलाई नयाँ कार्यसमितिमा थप गरेको हो ।

पोखराकी रजनी केसी लामो समय नेपाल विद्यार्थी संघ र महिला संघमा क्रियाशील परिचित सामाजिक अभियानकर्ता हुन् । कुशल वक्ताका रूपमा पनि ख्याति कमाएकी ४४ वर्षीय केसीले पुरानो राजनीतिबाट देशको रूपान्तरण संभव नै नभएको महशूस गरेर साझा पार्टी निर्माणमा पूर्णरूपले संलग्न हुन गत महिना पोखरा विश्वविद्यालयको उपप्रशासकको पदबाट राजीनामा दिएकी थिइन् । उनले जनसंख्या, लैङ्गिक अध्ययन तथा विकासमा स्नातकोत्तर गरेकी छिन ।

चालिस वर्षीय शरदराज पाठक स्थापनाकालदेखि नै साझा पार्टी निर्माणमा सकृय छन् । ग्रामिण विकासमा स्नातकोत्तर तथा अर्थशास्त्र र अंग्रेजीमा स्नातक गरेका पाठक पूर्व पत्रकार हुन् । उनले अष्ट्रेलियामा रहँदा अष्ट्रेलियाको नेपालीपत्र साप्ताहिकका संस्थापक सम्पादक भएर काम गरेका थिए ।

त्यसअघि उनी नेपालमा कालिका एफएम तथा रेडियो अन्नपूर्ण नेपालको समाचार प्रमूख र कान्तिपुर एफएमको सम्पादकीय टोलीका सदस्य थिए । साझा पार्टीमा पूर्णरुपमा संलग्न हुन हालै उनले बिभिन्न पेशागत जिम्मेवारीबाट राजिनामा दिएका छन् । पाठक कुशल वक्ता हुन् र उनले गत आम निर्वाचनमा पार्टीको तर्फबाट चितवन क्षेत्र नं ३ का उमेदवार थिए ।

साझा पार्टीप्रति देशैभरी विविध पृष्ठभूमीका नेपालीहरूले गरिरहेको अपेक्षा र जनाइरहेको आवद्धताका कारण एकै पुस्तामा देशको रूपान्तरण संभव छ भन्ने हाम्रो आत्मविश्वास अझ दृढ बन्दै गएको साझा पार्टीले जनाएको छ ।