ओली सरकारले मुलुकलाई भ्रष्टाचारको काण्डैकाण्डमा डुबायो : सभापति देउवा

ओली सरकारले मुलुकलाई भ्रष्टाचारको काण्डैकाण्डमा डुबायो : सभापति देउवा


कामठाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकारले शून्य सहनशीलताको कुरा गरेर मुलुकलाई भ्रष्टाचारको काण्डैकाण्डमा डुबाएको दावी गरेका छन् ।

नैनसिंह महरद्वारा लिखित पुस्तक ‘नेकपा सरकारका काण्डैकाण्ड’ को सोमबार काठमाडौंमा विमोचन गर्दै सभापति देउवाले प्रजातन्त्रका मूलभूत मान्यतामाथि सरकारले आक्रमण गर्ने काम गरिरहेको बताउँदै त्यस्ता क्रियाकलाप अब सैह्य नहुने चेतावनी दिए । उनले विना प्रतिस्पर्धा मेलम्ची खानेपानी आयोजनाको काम ठेक्कामा दिएर सरकारले ठूलै आर्थिक चलखेल गरेको आरोप लगाए ।

देउवाले बुढीगण्डकी जलविद्युत आयोजनाको काम पनि विना प्रतिस्पर्धा चिनियाँ कम्पनीलाई ठेक्कामा दिएको भन्दै आलोचना गरे । विना प्रतिस्पर्धा अघि बढाउन नमिल्ने ती आयोजना अघि बढाएबाट यसमा आर्थिक चलखेल भएको देउवाको जिकिर थियो ।

‘विना प्रतिस्पर्धा मेलम्ची खानेपानी आयोजना र बुढीगण्डकी जलविद्युत आयोजनाको कामलाई अघि बढाइएको छ,’ सभापति देउवाले भने, ‘संविधान र कानुनी रुपमा पनि विना प्रतिस्पर्धा अघि बढाउन नमिल्ने ती आयोजना अघि बढाएबाट स्पष्ट हुन्छ कि यसमा सरकारले धेरै ठूलो भ्रष्टाचार गरेको छ । आर्थिक चलखेल गरेको छ, अब सैह्य हुँदैन ।’