काठमाडौँ – निर्वाचन आयोगले आगामी मंसीर १४ गते हुने प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य तथा स्थानीय तहका सदस्यको उपनिर्वाचन प्रयोजनका लागि दलहरुलाई चुनाव चिन्ह प्रदान गरेको छ । आयोगले बिहीवार एक प्रेस विज्ञप्ति जारी गर्दै आयोगको असोज ८ गते बसेको बैठकले दल दर्ता गरी दलहरुलाई चुनाव चिन्ह दिने निर्णय गरेको जानकारी दिएको छ ।
संविधानको धारा २६९ बमोजिम आयोगमा दर्ता कायम भएका, २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तह सदस्यको पदका लागि निर्वाचनमा दर्ता नभएका, एकीकरण भएका, नाम परिवर्तन भएका र २०७४ सालको निर्वाचनपछि दर्ता हुन भएका राजनीतिक दलहरूलाई आगामी मंसीर १४ गते हुने तीनै तहको सदस्यको उपनिर्वाचनको प्रयोजनको लागि चुनाव चिन्ह निर्धारणपछि प्रदान गरेको हो ।
आयोगको बुधवारको निर्णयबाट दर्ता भएका दलमा साझा पार्टी, नेपाल कम्युनिष्ट पार्टी (ने क पा), राष्ट्रिय प्रजातन्त्र पार्टी (लोकतान्त्रिक), नेपालवाद, राष्ट्रिय नागरिक पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त), जनमत पार्टी (जपा), नेपाल लोकतान्त्रिक पार्टी, समाजवादी पार्टी, संघीय खम्बुवान लोकतान्त्रिक पार्टी, नेपाल, नेपाली काँग्रेस (वी.पी.), इतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपाल, आमूल परिवर्तन मसिहा पार्टी नेपाल, मंगोल नेशनल अर्गनाइजेशन, नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नामक राजनीतिक दल रहेका छन् ।
पार्टी एकीकरण नभएका पुराना दल नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका दलको चुनाव चिह्न भने पुरानै रहनेछ ।
प्रतिक्रिया