जिल्लामै एउटा मात्र ब्रेथलाईजर, सुँघेरै जाँचिन्छ मापसे

जिल्लामै एउटा मात्र ब्रेथलाईजर, सुँघेरै जाँचिन्छ मापसे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 लमजुङ- मादक पदार्थ सेवन (मापासे) जाँच्ने ब्रेथलाईजर मेशिन पर्याप्त नहुँदा लमजुङ ट्राफिक प्रहरीलाई चेक जाँच गर्न समस्या परेको छ । मेशिन पर्याप्त नभएका कारण ट्राफिक प्रहरीले सुँघेरै मापासे चेक गर्नु परेको हो । सुँघेर जाँच गर्दा लमजुङका ट्राफिक प्रहरीहरु रोग सर्ने खतरामा परेका छन् ।

जिल्ला भरका लागि मापासे जाँच्ने ब्रेथलाईजर मेशिन एउटा मात्र भएकाले समस्या भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङका प्रहरी नायव निरीक्षक निरबहादुर अधिकारीले बताए । उनले भने– ‘मेशिन एउटामात्र हुदाँ धेरै ठाउँमा सुँघेरै जाँच्नु पर्ने अबस्था रहेको छ ।’ मापासे गरे नगरेको सुँघेर जाँच गर्नु पर्दा ट्राफिकको स्वास्थ्यको समस्याको समेत जोखिम मोल्नु पर्ने भन्दै आवश्यक मेसीनको व्यवस्था गर्न केन्द्रीय कार्यालयमा माग गरी पठाएको उनले बताएकाे खबर नयाँपत्रिकामा छ ।

उनका अनुसार जिल्लामा ५ वटा युनिटको लागि ४ वटा ब्रेथलाईजर मेशिन आवश्यक रहेको छ । आवश्यक मेसीनको माग गरी पटक पटक केन्द्रमा पत्र पठाइएको र मेसीन प्राप्त नभएको अधिकारीले गुनासो गरे ।

मापासे सुँघेर जाँच गर्नु गर्दा मापासे गरेपनि हैन भनेर जिद्धी गर्ने हुँदा एकिन गर्न झन्झटिलो भएको खुदी अस्थायी ट्राफिक पोष्टका प्रहरी जवान नितेश कार्कीले बताए । मुख नजिकै नाक लगेर चेक गर्नु पर्दा यदी चालकलाई घातक सरुवा रोग लागेको भए आफू मारमा परिने जोखिम रहेको ट्राफिक प्रहरी जवन अच्युत विष्टको गुनासो छ ।

अस्थायी ट्राफिक प्रहरी पोष्ट भोर्लेटारका प्रहरी जवान लेखनाथ खत्री सुँघेर मापसे चेकिङ्ग गर्दा सरुवा रोग लाग्न सक्ने डर हुँदा हुँदै पनि पर्याप्त प्रविधी नभएका कारण जाखिम मोल्न वाध्य भएको बताए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार गत आर्थिक वर्षमा ३ सय ६५ जनालाई मापासे गरे वापत जरिवाना गर्दा ३ लाख ६५ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो । यो वर्ष माघ मसान्तसम्म २९ जनालाई कारवाही गर्दा २९ हजार राजस्व सङ्कलन भएको छ ।