-माधवकुमार नेपाल, छिमेकीहरूको आवत–जावत, आपसी सम्बन्ध जति धेरै भयो, जति बाक्लो भयो त्यति नै राम्रो हुन्छ । छिमेकी राम्रो हुँदा त्यो समाज राम्रो हुन्छ । त्यसले स्वाभाविक रूपले दुःख र सुखका बेलामा साथ दिने स्थिति बन्छ । जब आवत–जावत नै भएन भने सुख र दुःखमा कसरी साथको अपेक्षा गर्न सकिन्छ । बहुत लामो अन्तरालपछि यो सर्वोच्च तहको भ्रमण हुँदै छ । यो अत्यन्त खुसी र गौरवको कुरा हो । नेपालीका निम्ति अत्यन्त प्रसन्नताको कुरा हो । हामी सबैसँग मैत्रीपूर्ण, सुमधुर सम्बन्ध राख्न चाहन्छौँ । पारस्परिक मूल्य र मान्यताका साथ सम्बन्ध अघि बढाउन चाहन्छौँ ।
हामी पञ्चशीलका सिद्धान्तप्रति प्रतिबद्ध छौँ । हामी कुनै एउटा राष्ट्रका विरुद्धमा अरूलाई प्रयोग गर्न चाहँदैनौँ । नजिकका दुई छिमेकीहरू पानीले, पहाड, हिमाल, भूमि, पारस्परिक व्यापार, आवत–जावत, नाता सम्बन्धले जोडिएका छौँ । हामी सुख र दुःखका साथी हौँ । चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमण यो अनौठो होइन, अत्यन्त स्वाभाविक हो । यो भ्रमण अझ छिटोछिटो हुनुपर्छ । प्रत्येक वर्ष नेपालको एकपटक भ्रमण होस् भन्ने हाम्रो चाहना छ । यो भ्रमणबाट कोही आत्तिनुहुँदैन । माग्न र हात थाप्नका लागि भ्रमण हुने होइन । रमाइलो साट्न, अनुभव आदान–प्रदान गर्न यस्ता भ्रमण चाहिन्छ ।
उच्चतहमा भ्रमण हुँदा दुई राष्ट्रबीचमा अझ निकट सम्बन्ध बन्छ । जनस्तरको सम्बन्धलाई बाक्लो, व्यापारिक सम्बन्ध विस्तार, पर्यटन प्रवद्र्धन गर्नका निम्ति पनि भ्रमण अनिवार्य हुन्छ । विगतदेखि नेपालले चीनको सहयोग प्राप्त गर्दै आएको छ । चीनको मात्र होइन, सङ्कटका बेला अरू देशबाट पनि हामीले त्यत्तिकै साथ पाइरहेका छौँ । त्यस्तै, अरू देशमा सङ्कट पर्दा हामीले पनि सक्दो सहयोग गर्दै आएका छौँ । यसप्रति हामी अत्यन्त खुसी छौँ । यो भ्रमणले पनि आपसी विश्वास बढाउनेछ, आर्थिक सम्बन्धलाई विस्तार गर्ने काम गर्नेछ । दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा लग्नेछ ।
हामी छिमेकी मुलुक भारतसँग भूमिबाट जोडिएका छौँ । चीनसँग पनि भूमि र आकाश सबैतिरबाट जोडिनुपर्छ । बङ्गलादेशसँग पनि जोडिनुपर्छ । नेपालमा जति शान्ति, स्थायित्व हुन्छ छिमेकी राष्ट्र त्यति नै सबै हिसाबले निश्चिन्त हुन्छन् । सुरक्षा संवेदनशीलतामा हामीले ध्यान दिनुपर्छ । नेपालको भूमिबाट कुनै समस्या हुँदैन भन्ने विश्वास दिलाउनुपर्छ । नेपालको आर्थिक विकास जति हुन सक्यो छिमेकी त्यति नै खुसी हुुनेछन् । नेपालको स्वाभिमानलाई सबैले कदर गरिनुपर्छ । नेपाल सानो राष्ट्र भए पनि स्वाभिमानी राष्ट्र हो । पुरानो सभ्यताको इतिहास बोकेको राष्ट्र हो । बुद्ध जन्मेको यो धर्ती पवित्र छ ।
यही देशमा पशुपतिनाथ, मुक्तिनाथ, सीताजस्ता विभूतिको जन्म भएको छ । हिन्दु र बुद्ध धर्मको उद्गमस्थल हो– नेपाल । बुद्धको शान्तिको सन्देश विश्वभर फैलाउन सकिएको छ । हामीले बुद्धभद्र, फाहियान, भृकुटी, अरनिकोजस्ता विभूतिको स्मरण गर्नुपर्छ । चीनसँगको सम्बन्ध बढाउनमा उहाँहरूको महत्वपूर्ण योगदान छ । आधुनिक युगको निर्माण, चिनियाँ प्रविधिको लगानी नेपालमा भिœयाउन, सडक, कनेक्टिभिटीका लागि पनि प्रकृतिलाई जित्न सक्नुपर्छ । चीनले त अग्लो ठाउँ तिब्बतको पठारमा असम्भवप्रायः भएको ठाउँमा रेल पु¥याएर चमत्कार गरिसकेको छ ।
अब त्यहाँबाट नेपालको केरुङसम्म रेल ल्याउन खासै कठिन छैन । यातायातमा जति वृद्धि गर्न सक्यौँ, त्यति नै हाम्रो सम्बन्ध बाक्लो हुन्छ । व्यापार व्यसाय बढ्छ । चीनका पर्यटकलाई नेपाल आउन सहज हुनेछ । चिनियाँ यात्रुहरू हवाईजहाज र रेल दुवै माध्यमबाट नेपाल भ्रमणमा आउन सक्नेछन् । चिनियाँ राष्ट्रपतिको यो भ्रमणको हामीले लामो समयदेखि व्यग्रतासाथ प्रतीक्षा गरिरहेका थियौँ । उहाँलाई हामीले नेपालमा हार्दिक स्वागत गर्दछौँ ।
सन् २००९ को डिसेम्बरमा म चीन भ्रमणमा गएकोबेला विकासका लागि रणनीतिक साझेदारीको मान्यता अगाडि सारिएको थियो । त्यसले पनि सम्बन्ध विस्तारमा महŒवपूर्ण भूमिका खेलेको मैले बुझेको छु । हामी सबै नेपालीले चीनसँग नेपालको भूमि जोडिनुपर्छ भन्ने साझा चाहना छ । त्यसलाई चीनले पनि सकारात्मक रूपमा लिएको पाएका छौँ ।
यो भ्रमणमा त्यसबारे केही न केही सम्झौता हुने मैले विश्वास लिएको छु । हामीले क्षणिक सम्बन्ध र लाभमा अल्झिनुहुँदैन । दीर्घकालीन सम्बन्ध र लाभका लागि ध्यान दिनुपर्छ । सम्बन्ध विस्तारमै आर्थिक सम्बन्ध पनि जोडिएको हुन्छ । जबसम्म आपसी सम्बन्ध गाढा हुँदैन, तबसम्म आर्थिक सहयोगको आदानप्रदान सम्भव हुँदैन । त्यसैले पहिले हामी छिमेकीसँग सुमधुर सम्बन्ध बनाउनुपर्छ । बाँकी सहयोग त आपसी समझदारीमा हुन्छ नै ।
तत्कालीन राजा महेन्द्रले पनि चीनसँग नेपाल जोड्न कोदारी राजमार्ग बनाउन पहल गरेका थिए । त्यो बाटोबाट हामी सबैलाई लाभ भयो । त्यसैले लाभ हानिलाई हामीले ध्यान दिनुपर्छ । लाभमात्र पनि हेर्नुहुँदैन । राष्ट्रलाई एकताबद्ध बनाउनेमा ध्यान दिनुपर्छ । बाटोघाटो व्यापारमात्र होइन, मानिस–मानिसबीचको सम्बन्ध गाढा बनाउन, चेतना बढाउन, एक–अर्काको भावना जित्नका लागि पनि हो । पर्यटक, यात्रुको सङ्ख्या बढ्दै गयो भने भोलि सहयोग त नेपाललाई नै पुग्छ । नेपाल संसारका निम्ति आकर्षणको केन्द्र बन्दै छ । सबैको विश्वास जित्दै छ । विश्वभरका मानिस एकपटक नेपाल पुग्न पाए हुन्थ्यो भन्ने ठानिरहेका छन् । यो हाम्रालागि उज्ज्वल भविष्य र गौरवको कुरा हो ।
कतिपय देश पर्यटकले मात्र आर्थिक समृद्धि गरेको हामीले देखेका छौँ । हामीसँग पर्यटकीय महत्वसँगै अन्य उत्पादनका सम्भावना पनि उत्तिकै छ । यहाँको प्राकृतिक स्रोत–साधनको सदुपयोगको त्यति नै महत्व छ । यो भ्रमणका बेला पनि नेपाल–चीनबीच केही दीर्घकालीन सम्झौता हुनेछ । दीर्घकालीन महत्वका परियोजनामा सम्झौता हुने तयारी भएका छन् । यसले नेपाल र चीन दुवैलाई फाइदा पुग्नेछ । चीनको राम्रो पक्ष के हो भने, उसले आफूले मात्र सम्बन्ध बढाउने भन्दैन । अरूसँग पनि त्यत्तिकै मात्रामा राम्रो सम्बन्ध राख्नुस् भनेर सुझाव दिने गरेको छ । यो राम्रो पक्ष हो ।
चीनले संवेदनशीलता हेरेर लगानी गर्ने गरेको छ । तथापि काम गर्दै जाँदा केही त्रुटि र कमजोरी हुन्छ नै । त्यो जसबाट पनि हुन्छ । चीनको लगानी रहेका केही परियोजनामा ढिलाइ भयो भनेर गुनासो सुनिन्छ तर त्यहाँ हाम्रो कमजोरी पनि जोडिएको छ । यो रिङरोड निर्माणकार्य पनि कति तीव्र गतिमा भइरहेको थियो, हामीले जग्गा अधिग्रहण गर्नमा ढिलाइ गर्दा काममा सुस्तता भयो । आफ्नै कारणले काममा ढिलाइ भएका बेला पनि अरूलाई दोष दिनु त उचित हुँदैन ।
आफ्नो कमजोरी र त्रुटि सच्याउँदै जानुपर्छ । नियम कानुनको पूर्ण पालना गरेर नै हामीले विकास गर्ने हो । चीनले आर्थिक समृद्धि कायम गरेको पनि नियमबद्ध तरिकाले नै हो । हामीले चीनबाट धेरै कुरा सिक्नेक्रममा छौँ । उसको विकासको बाटोलाई पछ्याउन सक्छौँ । चीनमा अहिले एक अर्ब ४३ करोड जनसङ्ख्या छ । त्यहाँको केही नागरिक नेपाल आउँदामात्रै नेपाल पर्यटकीय रूपले ठूलो आर्थिक वृद्धि हासिल गर्न सक्छ । यो हामीले राम्रोसँग बुझेका छौँ ।
मैले दर्जनौँपटक चीनको भ्रमण गरेको छु । सम्बन्ध राखेर केही बिगँ्रदैन । पार्टी–पार्टीबीचको सम्बन्धले देशको सम्बन्ध राम्रो बनाउन मद्दत पुग्छ । कोहीले नेपाल कम्युनिस्ट पार्टी र चीनको कम्युनिस्ट पार्टीबीचको सम्बन्ध बनेको देखेर हल्का आलोचना गरेको सुनिन्छ । तर, त्यो आवश्यक छैन । चिनियाँ पार्टीसँग हाम्रो भ्रातृत्व सम्बन्ध उहिलेदेखिको हो ।
चीनले आफ्नो विचार निर्यात गर्न चाहँदैन । हामीले पनि कसैको विचार आयात गर्न आवश्यक छैन । द्वन्द्वात्मक भौतिकवादको दर्शनलाई नेपालको सन्दर्भमा लागू गर्न चाहेका छौँ । समाजमा कस्ता–कस्ता वर्ग बस्छन्, तिनीहरूको स्वभाव कस्तो हुन्छ, त्यसको व्याख्या गर्न, समाजमा कस्ता अन्तरविरोध विद्यमान छन् रु संसारलाई चिन्न र आफूलाई चिन्ने चश्मा हो त्यो । हेर्नेमात्र होइन, रूपान्तरण गर्ने सिद्धान्त पनि हो ।
“पहिले चिन अनि बदल । रोगको पहिचान गर अनि निदान गर” भन्ने सूत्र प्रयोग गर्न चाहेका छौँ । हामीले पार्टीबीचको सम्बन्ध सुमधुर बनाएसँगै देश–देशबीचको सम्बन्ध पनि बनाउन त्यति नै महत्व दिएका छौँ । जनता–जनताबीच, पार्टी–पार्टीबीच, सङ्गठन–सङ्गठनबीचको सम्बन्ध राम्रो भएमा देशको सम्बन्ध बनाउन टेवा पुग्छ । चीनको एउटा सिद्धान्त छ, “पहिले समस्या पहिचान गर अनि काम गर ।”
समस्याको पहिचानै नगरी समाधान कसरी खोज्ने रु सामाजिक न्याय, समानताको सिद्धान्त लागू गर्न चाहेका छौँ । सबैको शिर ठाडो होस्, सबैका छोराछोरी पढ्न पाऊन्, योग्य र सक्षम होऊन् । कोही धनी कोही गरिब नहून् भन्ने हाम्रो कम्युनिस्ट पार्टीको मुख्य मान्यता हो । ज्येष्ठ नागरिक समस्यामा नपरून्, एकल महिला पुरुष समस्यामा नपरून्, अपाङ्गता भएका व्यक्तिहरू समस्यामा नपरून्, गरिब, अल्पसङ्ख्यक कसैको जीवन कष्टपूर्ण नहोस् भन्नेतर्फ हाम्रो ध्यान केन्द्रित छ । समाजवादको मान्यतालाई हामीले आत्मसात् गरेका छौँ ।
हामी निजी, सहकारी र सार्वजनिक सिद्धान्त अङ्गीकार गरेर अघि बढेका छौँ । यो समाजवादको यात्रा हो । यसबाट कोही आत्तिनुपर्दैन । समाजको हितका लागि हो यो । कसैका विरुद्धमा हामी छैनौँ । अन्याय अत्याचार, विभेद अन्त्य गर्ने लक्ष्यमा छौँ । के यो कसैको अहितमा छ र रु कम्युनिस्ट नेतृत्वको सरकारबाट कोही तर्सिनुपर्ने आवश्यक छैन । हामी खुला समाजको पक्षमा छौँ तर नाङ्गो र विकृत समाजको पक्षमा छैनौँ ।
राम्रो संस्कार, राम्रो आचरण र व्यवहारको पक्षमा छौँ । हामीले लिएको विचार र नीतिबाट कोही आत्तिनुपर्दैन । तत्कालीन राजा महेन्द्रले भनेका थिए, “कोदारीको बाटोबाट मोटर चढेर कम्युनिज्म आउँदैन ।” अहिले हामीले बीआरआई प्रोजेक्टमा हस्ताक्षर गरेका छौँ । यसबाट पनि आत्तिन आवश्यक छैन । रेलको बाटो भएर सी चिनफिङ सिद्धान्त नेपाल आउने होइन । संसारलाई जोड्ने, व्यापार प्रवद्र्धन गरी सम्बन्ध जोड्ने परियोजना हो बीआरआई ।
भ्रमणबारे सरकारले सम्पूर्ण तयारी गरिसकेको छ । आजदेखि राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण हुँदै छ । यस अवसरमा हामी नेपाली अत्यन्त खुसी र गौरवान्वित भएका छौँ । सरकारले दुईपक्षीय सम्बन्ध दरिलो बनाउन ध्यान दिनुपर्छ । सम्बन्ध गहिरो होस्, समझदारीको जग बलियोमात्र होइन, अझ विश्वसनीय बन्ने मेरो विश्वास छ । दुई देशको सम्बन्ध अझ उचाइमा पुगोस् ।
विश्वास र साझेदारी आर्थिक, सामाजिक, शैक्षिक क्षेत्रमा रूपान्तरण हुन्छ । सबै हिसाबले यो भ्रमण सफल होस् । दुई देशबीचको युगीन सम्बन्ध अझ भरपर्दो, सुमधुर भई नयाँ उचाइमा पुगोस् । नेपालीको महान् चाड दशैँको अवसरमा भइरहेको यो भ्रमणले थप खुसी र गौरव बढाएको छ । म व्यक्तिगत रूपमा पनि चिनियाँ राष्ट्रपति सी चिनफिङलाई नेपालमा हार्दिक स्वागत गर्दछु ।
(पूर्व प्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता नेपालसँग गोरखापत्रका उपसम्पादक लक्की चौधरीले गर्नुभएको कुराकानीमा आधारित संवाद हामिले गोरखापत्रबाट साभार गरेका हौ । )
प्रतिक्रिया