छुट्टाछुट्टै दुर्घटनामा परी ७ जनाको मृत्यु

छुट्टाछुट्टै दुर्घटनामा परी ७ जनाको मृत्यु


काठमाडौं – नवलपरासी(पश्चिम), नवलपरासी(पूर्व), सिन्धुली, काभ्रे, पर्सा र कास्कीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ ।

नवलपरासी(पश्चिम), सुनवल नगरपालिका-४ स्थित सडकमा लु.२ च ६६९७ नम्बरको स्कार्पियो गाडीले लु.५६ प ३२८१ नम्बरको मोटरसाइकललाई शुक्रबर दिउँसो ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सुनवल नगरपालिका-११ तह्रवानी बस्ने ३८ वर्षीय
टेक प्रसाद ढकालको जेनेश अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको छ । स्कार्पियो गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नवलपरासी(पूर्व), बुलिङटार गाउँपालिका-६ मिरन्दी खोलास्थित सडकमा ग.१ ज ६५०५ नम्बरको जिप ब्रेक फेल भई शुक्रबार दिउँसो दुर्घटना गम्भीर घाइते भएका जिपमा सवार देवचुली नगरपालिका-४ बस्ने ३४ वर्षीय हरी अधिकारीको मणिपाल अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका जिपमा सवार अन्य ४ जनालाई उपचारको लागि दलदलेतर्फ लगिएको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिन्धुली, सुनकोशी गाउँपालिका-३ झागझुलीस्थित सडकमा ज.१ ज २३२ नम्बरको सुमोले बा.३६ प ७८७ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार सुनकोशी गाउँपालिका-१ बस्ने १९ वर्षीय धनधोज तामाङलाई
उपचारको लागि धुलिखेलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको भरोसा अस्पताल रातामाटामा उपचार भइरहेको छ । ठक्कर दिने सुमो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काभ्रे, रोशी गाउँपालिका-३ साझकोटस्थित सडकमा बा.३ ख ३५९५ नम्बरको ट्रक सडकबाट अन्दाजी १ सय मिटर तल खसेर शुक्रबार साँझ दुर्घटना हुँदा ट्रकमा सवार हाल नाम, थर, वतन नखुलेका २ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका चालक समेत ३६ जनालाई उपचारको लागि शिर मेमोरियल अस्पताल बनेपा लगिएकोमा ३ जनालाई थप उपचारको लागि मध्यपुर अस्पताल ठिमी पठाइएको छ ।

पर्सा, पर्सागढी नगरपालिका-३ स्थित सडकमा ग.७ प ३४०३ नम्बर र ना.२० प २२८७ नम्बरको मोटरसाइकल एक-आपसमा ठक्कर खाई शुक्रबार साँझ दुर्घटना हुँदा गम्भीर घाइते भएका ना.२० प २२८७ नम्बरका मोटरसाइकल चालक वीरगंज महानगरपालिका-२ छप्कैया बस्ने ३० वर्षीय अदनान सिद्धिको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

कास्की, पोखरा महानगरपालिका-२५ हेम्जास्थित सडकमा ग.६ प ४९७६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुषको फिष्टेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।