काठमाडौं – चीनको वुहानमा आजबाट सुरु हुने ७ औं मिलिटरी वर्ल्ड गेममा नेपाली सेनाले विभिन्न १३ वटा खेलमा भाग लिने भएको छ । सो खेलको आज साँझ वुहान स्पोर्ट सेन्टरमा चीनका राष्ट्रपति सी जिनपिङले उद्घाटन गर्दैछन् ।
सो कार्यक्रममा भाग लिन उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल बिहीबार त्यसतर्फ प्रस्थान गरिसकेका छन् । आज साँझ ८ बजे सो कार्यक्रमको उद्घाटन हुने जनाइएको छ ।
राष्ट्रपति सीले उद्घाटन गर्ने सो खेल आगामी १० दिनसम्म चल्नेछ । सो खेलमा भाग लिन नेपालसमेत विश्वका १०९ मुलुकका ९ हजार ३ सय ८ सेना सो स्थानमा पुगेका छन् । सो कार्यक्रम अन्तर्गत ३२९ वटा इभेन्टमा २७ खेल हुने जनाइएको छ ।
चीनको सो खेललाई मिलिटरी वर्ल्ड गेमको समेत नाम दिइएको छ । नेपाली सेना यो खेलमा पहिलो पटक सहभागी हुन लागेको हो । प्रतियोगितामा यस पटक २५ वटा खेल प्रतियोगिता र २ वटा खेल प्रदर्शन गरी कूल २७ खेलहरु समेटिएका छन् ।
उक्त प्रतियोगितामा सञ्चालन हुने २५ खेल विधामध्ये नेपाली सेनाका खेलाडीहरु विभिन्न १३ खेलमा सहभागी हुने जनाइएको छ । नेपाली सेनाका तर्फबाट आर्चरी, ट्रयाक एण्ड फिल्ड,ब्याटमिण्टन, तेक्वान्दो, बक्सिङ, विच भलिवल,घोड चढी, कुस्ती, फेन्सिङ, मोर्डन पेन्टाथलन, जुडो, सुटिङ्ग,ट्रयाथलनमा भाग लिने जनाइएको छ ।
उक्त प्रतियोगितामा नेपाली सेनाका ४० जना खेलाडीहरु सहभागी हुनेछन् भने अतिथि, डेलिगेसन र कोचसहित कूल ६४ जना रहने जनाइएको छ ।
प्रतिक्रिया