काठमाडौं – काठमाडौंमा ‘राष्ट्रिय आविष्कार केन्द्र’ स्थापना गरिएको छ । युवा वैज्ञानिक तथा सामाजिक अभियन्ता महावीर पुनको नेतृत्वमा शुक्रबार काठमाण्डौको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा निर्माण गरिएको राष्ट्रिय आविष्कार केन्द्रको उद्घाटन गरिएको हो ।
जनस्तरबाट र विदेशीहरुले पनि गरेको झण्डै ८ करोडको लगानीमा केन्द्र स्थापना गरिएको हो । नेपाली नागरिकले दिएको दान र विदेशीहरुको सहयोगमा केन्द्र स्थापना गरिएको केन्द्रका अध्यक्ष समेत रहनु भएका पुनले जानकारी दिए ।
नयाँ–नयाँ सोच भएका युवाहरुलाई उद्यमी बन्न र देशको आर्थिक विकासमा योगदान दिने खालका कुनै पनि क्षेत्रको बस्तुहरुको उत्पादन गरेर व्यापार गर्न आवश्यक सहयोग गर्ने गरी केन्द्र स्थापना गरिएको पनि अध्यक्ष पुनले बताए । केन्द्रमा हाल २० वटा प्रोजेक्ट सञ्चालनमा आएका छन । ड्रोन, बायोमेडिकल, कृषि, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा नयाँ–नयाँ अनुसन्धानको काम सुरु गरिएको पनि केन्द्रले जनाएको छ ।
केन्द्रले हाल चितवनमा कुखुराको दाना र माछा पालनका लागि काम गरिरहेको छ । त्यसैगरी पर्यटन, कृषिका क्षेत्रमा पनि पोखरा, विराटनगरलगायतका शहरमा काम सुरु गरिएको छ ।
केन्द्रका अध्यक्ष पुनले नयाँ आविष्कारको क्षेत्रमा काम गर्न केन्द्रले शैक्षिक योग्यताको माग नगर्ने पनि स्पष्ट पारे । उनले नयाँ काम गरेर उद्यमी बन्न र रोजगारीको अवसर सृजना गर्ने कामका लागि आवश्यक बजेट र सामग्रीहरुको पनि सहायता गर्ने पनि बताए ।
प्रतिक्रिया