बर्खाअघि कंलकी–नागढुङगा आधा सडकखण्ड मात्रै कालोपत्रे

बर्खाअघि कंलकी–नागढुङगा आधा सडकखण्ड मात्रै कालोपत्रे


काठमाडौं –त्रिपुरेश्वर हुँदै कलङ्की–नागढुङ्गा सडक विस्तार आयोजनाले कलङ्की–नागढुङगा सडकको आधा भाग बर्खा लाग्नु अघि नै कालोपत्रे गर्ने जनाएको छ ।

त्रिपुरेश्वर हुँदै कलङ्की–नागढुङ्गा कुल १२.५ किलोमिटर लामो सडकमध्ये करिव ६ किलोमिटरमा विवाद र अवरोध नभएकाले कालोपत्रे गर्ने तयारी थालिएको उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । आयोजनाका अनुसार सडक विस्तारका क्रममा धेरै ठाउँमा विवाद भएका कारण विस्तार गर्न नसकिएपछि अहिले विवाद नभएका ठाउँहरुमा कालोपत्रे गर्न लागिएको हो ।

यस अघि आयोजनाले ’यथास्थितिमा’ कालोपत्रे गर्न प्रस्ताव गरेको थियो तर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यसले दीर्घकालीन रुपमा असर गर्ने भन्दै स्वीकृति दिएन । निर्माण सम्पन्न गर्ने अवधि सकिँदा ३४ प्रतिशत विस्तारको काम मात्रै भएको छ। साढे १२ किलोमिटर लामो यो सडकमा १३ सय भन्दा बढी स्थानमा विवाद तथा अवरोधका कारण सडक विस्तारले गति लिन नसकेको हो । उपत्यका सडक विस्तार आयोजनाका सिनियर डिभिजन इन्जिनियर विश्वविजयलाल श्रेष्ठले ’विवाद र स्टेअर्डर नभएका ठाउँहरुमा असारअघि नै कालोपत्रे सक्ने योजना बनाएको छौं, केही दिनभित्रै कालोपत्रेको काम सुरु हुन्छ ।

इन्जिनियर श्रेष्ठका अनुसार अब विवाद र झमेला नभएका ठाउँमा कालोपत्रे हुने भएकाले धुलो र हिलोको सास्ती खेप्नु पर्दैन।जाडो महिनामा कालोपत्रे गर्दा बलियो र गुणस्तरीय नहुने भन्दै आयोजनाले जाडो सकिएसंगै कालोपत्रेको तयारी गरेको हो। विद्युत प्राधिकरण र टेलिकमका युटिलिटिजका पोलहरु,खानेपानीका पाइप,सरकारी रुख, मुआब्जा विवाद, अदालतको स्टेअर्डर लगायतका समस्याले यो सडक विस्तार गति लिन नसकेको हो। सरकारी निकायका बीचमा समन्वय हुन नसक्दा पनि सडक विस्तार सुस्त हुन पुगेको आयोजनाले जनाएको छ।

कलंकी–सतुङ्गल दोस्रो ३ किलोमिटर बिस्तारको जिम्मा पाएको शर्मा शैलुङ कान्छाराम जेभीले ३० प्रतिशत काम सकेको छ। तेस्रो सतुङ्गल–त्रिभुवनपार्क ३ किमीको जिम्मा पाएको लुम्बिनी शैलुङ जेभीले ३५ प्रतिशत सकेको छ भने अन्तिम खण्ड त्रिभुवनपार्कदेखि नागढुङ्गासम्म चौथो ३.१०० किमीको जिम्मा पाएको शर्मा शैलुङ कान्छाराम जेभीले ४५ प्रतिशत सकेको छ। त्रिपुरेश्वरदेखि कलंकी ३.३८० किलोमिटर पहिलो खण्ड बज्रगुरु विरुवा सिएम जेभीले पाएको छ। यो खण्डको २५ प्रतिशत भौतिक प्रगति देखिएको छ।