टि–ट्वान्टी वरीयतामा नेपाल पुरानै स्थानमा

टि–ट्वान्टी वरीयतामा नेपाल पुरानै स्थानमा


काठमाडौं – अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले टि–ट्वान्टीको नयाँ वरीयता सार्वजनिक गरेको छ । आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल पुरानै वरियता अर्थात १३ औं स्थानमा यथावत् रहेको छ ।

नयाँ वरीयताअनुसार नेपालले २१ खेलबाट १९० रेटिङ, ३ हजार ९९२ अंक पाएको छ । सिंगापुरमा त्रिकोणात्मक र ओमानमा भएको पाँच देशीय टि–ट्वान्टी सिरिज खेले पनि नेपालले उत्कृष्ट प्रदर्शन गर्न नसक्दा वरीयतामा सुधार आउन नसकोको हो ।

वरीयतामा स्कटल्याण्ड र यूएई नेपाल भन्दा अघिल्लो स्थानमा छन् । नयाँ वरीयतामा स्कटल्याण्ड ११औँ र युएई १२औँ स्थानमा रहेका छन् । एसोसियट राष्ट्रमध्येको टि–ट्वान्टी वरीयतामा भने नेपाल तेस्रो स्थानमा रहेको छ । नेपाल भन्दा तल दुई टेष्ट राष्ट्र जिम्बावे र आयरल्याण्ड रहेका छन् ।

टि–ट्वान्टी वरीयताको शीर्ष स्थानमा पाकिस्तान र दोस्रोमा इंग्ल्याण्ड यथावत् रहेका छन् । दक्षिण अफ्रिका तेस्रो, भारत चौथो र अष्ट्रेलिया पाँचौं स्थानमा रहेका छन् ।