संविधान बाहिर गएर काम गरे विप्लव समुहको अस्तित्व समाप्त हुन्छ:मुख्यमन्त्री राई

संविधान बाहिर गएर काम गरे विप्लव समुहको अस्तित्व समाप्त हुन्छ:मुख्यमन्त्री राई


काठमाडौं–प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले नेत्रविक्रम चन्द विप्लव समूहलाई संविधानको मुल दायराभित्र आएर हिँड्न आग्रह गरेका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन् । राईले भने,‘विप्लव समूह अब संविधानको मुल दायराभित्र आएर हिँड्नुको विकल्प छैन, सरकार मुलुकमा सुशासन, भ्रष्टाचार, अपराध नियन्त्रणमा कठोरताका साथ प्रस्तुत हुन्छ।’

एमाले नेता समेत रहेका राईले मुलुकमा राजनीतिक क्रान्तिको चरण पूरा भएकोले अब आर्थिक क्रान्ति, सुशासन, स्थायी शान्ति र दिगो विकास हाँसिल गर्ने बाटोमा हिँड्ने समय आएको स्पष्ट पारे । उनले भने,‘अबको युग भनेको स्थायी शान्ति, राजनीतिक स्थायित्व, सुशासन र विकासको हो, यसको लागि सरकार गम्भिर भएर लागिपर्छ।’

मुख्यमन्त्री राईले आगामी चैत्र १५ गतेभित्रै एमाले–माओवादी केन्द्रवीच बृहत्त एकता घोषणा हुने पनि जनाए । उनले भने,‘हामी सम्पूर्ण तयारीमा जुटिसकेका छौं, चैत्र १५ गतेभित्रै पार्टी बाम गठबन्धन अब पार्टी एकतामा परिणत हुन्छ।’

मुलुकमा अब अस्थिरता र अराजकताको कुनै गुञ्जायस नभएको उल्लेख गर्दै मुख्यमन्त्री राईले भने,‘अब अराजकताको कुनै गुञ्जायस छैन, जनताको चाहना र सपना एउटै भएकोले समृद्धि हाँसिल गर्ने दिशामा हामी अघि बढ्छौं, यो भन्दा अर्को एजेण्डा छैन, समृद्धिको यात्रामा सबै दलहरु सरिक हुनुपर्छ।’

उनले आफूहरु अहिले कानून निर्माण गर्ने काममा जुटेको पनि जानकारी दिए । यद्धपी उनले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारले निर्वाचनको पछिको संघीय संरचना बनाउने काममा ध्यान नदिएको गुनासो पोखे । ‘दुर्भाग्य नै भन्नुपर्छ, अघिल्लो सरकारले निर्वाचनपछि चाहिने संघीय संरचनाको लागि कुनै ध्यान दिएन, व्यवस्थापन गर्ने कुरामा पनि चुक्यो’–उनले थपे।

देउवा नेतृत्वको अघिल्लो सरकारले व्यवस्थापनमा ध्यान नदिएकोले अहिले आफूहरुले शुन्यबाट कामको थालनी गरिरहेको उनको भनाई थियो । यद्धपी उनले आफूहरु आफ्नो दायित्व र जिम्मेवारीबाट रत्ति पनि अलमलमा नरहेको स्पष्ट पारे ।

प्रदेश नम्बर १ का प्राथमिकताहरु विशेष कार्यक्रममार्फत आफूहरुले यसअघि नै सार्वजनिक गरिसकेको उल्लेख गर्दै राईले भने,‘प्रदेश नम्बर १ मा धेरै संभावना छ, एक नम्बर प्रदेश सानो नेपाल नै हो, यहाँ हिमाल, पहाड र तराई छ, सुन्दर बनावट छ, यहाँ ५ वटा अग्ला हिमालहरु छन्, सगरमाथा, मकालु, कञ्चनजंघादेखि कोशी टपुसम्मका निकुञ्जहरु यहीँ छन्।’

आगामी बजेट सुशासन र समृद्धिमा जोड दिएर आउने पनि राईले विश्वास दिलाए । ‘सुशासन, समृद्धिमा जोड दिएका छौं, अपराध नियन्त्रण, भ्रष्टाचारमा शुन्य सहनशिलता अपनाउँछौं।’ त्यस्तै प्रदेश नम्बर १ मा भएका ठूला–ठूला राष्ट्रिय गौरवका आयोजनाहरुलाई द्रुत गतिमा अघि बढाउनको लागि केन्द्रिय सरकारलाई ध्यानाकार्षण गराउने पनि राईले सुनाए ।

उनले भने,‘विकास बजेट पनि समयमै खर्च गर्छौं, आयोजनाहरु निर्माण गर्दा गुणस्तरमा ध्यान दिन्छौं, यो प्रदेशलाई हामी सुन्दर र हेर्नलायक, र सबैको निम्ति नमूना प्रदेश बनाउँछौं, यही संकल्पका साथ हामी काम गरिरहेका छौं, हामी जनताको सेवक हौं, सेवा गर्छौं।’