आइतबार विश्वासको मत लिदै प्रधानमन्त्री ओली

आइतबार विश्वासको मत लिदै प्रधानमन्त्री ओली


काठमाडौ– प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार सांसदमा विश्वासको मत लिने भएका छन् । संघीय संसदको अध्यक्षता गर्दै आएका महन्थ ठाकुरले सो कुराको जानकारी गराएका हुन् ।

ओली एमाले र माओवादी केन्द्रको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका हुन् । संघीय समाजवादी फोरम र राजपाले पनि समर्थन गर्दा उनले दुई तिहाई बढी मत पाउने निश्चित छ ।

नेपालको संविधानको धारा ७६ को उपधारा ४ अनुसार कुनै एक मात्र दलको स्पष्ट बहुमत नरहेको अवस्थामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा नियुक्त भएका प्रधानमन्त्रीले एक महिनाभित्र विश्वासका मत लिनुपर्दछ ।

राप्रपाको भोट ओलीलाई
एक सांसद भएको राप्रपाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मत दिने भएको छ । प्रधानमन्त्री ओलीले भोलि विश्वासको मत लिने कार्यक्रम छ ।राप्रपाले राष्ट्रियता र प्रजातन्त्रको सम्वर्द्धन तथा राजनीतिक स्थिरता, सुशासन, भ्रष्टाचारमुक्त प्रशासन एवं आर्थिक सम्बृद्धिको अपेक्षा गर्दै प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय लिएको छ ।