कम्युनिस्ट पार्टीको नेतृत्वमा चीनको विकास, नेपालले केही सिक्ने कि ?

कम्युनिस्ट पार्टीको नेतृत्वमा चीनको विकास, नेपालले केही सिक्ने कि ?


वसन्त खड्का
काठमाडौं – विगतका यात्राहरूको तुलनामा यात्रा अलि फरक नै रह्यो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको गोन्जाओ प्रान्त हुँदै राजधानी बेईजिङसम्म पुग्दा मनमा अलि, खुसी र केहि निराशापन थियो । साउथ एयर चाइनाको विमानद्धारा पाच घण्टाको उडानमा हामी १४ जना पत्रकारको टोली गोन्जाओको विमानस्थलमा उत्साहका साथ अवतरण गर्यौं ।

यसपटक भने छिमेकी देश चीन यात्राको चाँजो मिल्यो । चीन यात्राका लागि म धेरै उत्साहित भएको थिए । सानो छँदा म ६ कक्षा पढ्दा स्कूलमा हाजिरीजवाफ हुन्थ्यो । चीनको राजधानी कुन ठाँउ हो ? चीन नेपाल भन्दा कति गुणा ठूलो छ ? म यसको सजिलै तरिकाले उत्तर दिन्थे चीनको राजधानी बेईजिङ हो । नेपाल भन्दा चीन ६५ गुणा ठूलो छ भन्ने उत्तर हुनथ्यो । तर आज आफूले छ कक्षामा पढेको चीन देख्न पाउंदा चन्द्रमा छोएजस्तो भएको छ ।

वसन्त खड्का

त्यसो त स्कुले विद्यार्थीकालदेखि नै चीनका क्रान्तिकारी नेता माओका बारेमा थोरै, थोरै शिक्षकहरुबाट सुन्न पाइन्थ्यो । चीनमा त कम्युनिष्टले शासन गर्छन् रे सबै बरावरी हुन्छन् रे धनी गरीव हुन्नन् रे भन्नेजस्ता कुराहरु सुनेको थिएँ । यस्तै कारणले बच्चा उमेरदेखि नै चीन कस्तो होला भन्ने जान्ने र त्यहाँ पुग्न पाए हुन्थ्यो भन्ने मेरो चाहना थियो ।

केही वर्षदेखि आएर चीनको विकासले निक्कै नै फड्को मारेको रहेछ । चीन विश्वमा सुपरपावरतिर लम्किरहेको छ भन्ने अनुमान नलगाउने कुरै भएन । त्यसैगरी विश्वका विकसित देशहरुका मुख्य शहरमा समेत चिनियाँ नामबाट चाइना टाउन भन्ने शहर नै निर्माण गरिएका छन् । यसले गर्दा चीनको विस्तार विश्वमा जहाँ पनि भएको रहेछ भनेपछि चीनमा नै त अझ कस्तो होला भन्ने कौतुहलता जाग्नु ममा स्वभाविक नै थियो ।

यस्तै उत्सुकता मेट्न चाइना फाउण्डेसनको आयोजनामा हामी अक्टोबर १३ तारिख राति १२ बजे। नेपालको त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट चीनको गोन्जाओ प्रान्त हुंदै राजधानी बेईजिङसम्म चाईना साउथ एयरलाइन्सबाट १४ जना पत्रकारहरुको टोली ८ घण्टापछि बेईजिङ पुग्यौं । एयरपोर्ट पुग्नासाथ इन्टरनेट सेवा चलाउनु पर्यो भनेर यसो फ्रि वाइफाई जोडियो जसोतसो गरेर तर चल्ने भनेको मात्र वीच्याट रहेछ । अन्य सामाजिक टुइटर, फेसबुक, इन्स्टग्राम सबै बन्द ।

एयरपोर्टबाट बाहिर निस्कनासाथ बेइजिंङको यात्राका लागि गैरसरकारी संस्थाका रूपमा स्थापना भएको चीनको गरिबी निवारण कोष (चाइना फाउन्डेसन फर पोभर्टी एलिभियसन) का नेपाल डाइरेक्टर चौ च् छियाङ (नेपाली नाम चौ दिदी) र नेपाली नाम राधिका जी गाडी लिएर बाहिर लिन बसेकी रहिछन् ।

भोलीपल्टबाट हाम्रो हपै प्रान्तको लाश्वै जिल्ला घुम्ने कार्यक्रम रहेको थियो विहान ब्रेकफास्ट खाएर ८ बज्दा नबज्दै बस चढेर हामी १४ जना नेपालबाट गएका पत्रकार र चाइना इन्टरनेश्नल रेडियोमा कार्यरत लक्ष्मी लम्साल दाई, चौ च् छियाङ र चाइना रेडियो इन्टरनेसनलकी राधिका जीसहित १७ जनाको समूह लाश्वै जिल्लाको होमस्टेमा गयौं ।

ग्रामीण विकासबारे अवलोकन गर्न हामीलाई कोषले राजधानी बेइजिङबाट करिब दुई सय किलोमिटर टाढाको ग्रामीण पहाडी इलाका पु¥यायो । दुई दिन–एक रात हपै प्रान्तको लाश्वै नगरपालिका, लाइस्वे जिल्लाको नान यु गाउँमा राखेर तीन गाउँमा आफूहरूको विकासको अवधारणा र त्यसबाट जनताले पाएको सफलता अवलोकन गराइयो । कोषले तीन वर्षदेखि नान यु गाउँमा ‘होमस्टे’, सान भो गाउँमा बंगुरपालन र तु ह्य गाउँमा लघुवित्त कार्यक्रम सञ्चालन गर्दै आएको रहेछ ।

सन् १९९९ मा स्थापित कोषले मुख्य गरी स्वास्थ्य, शिक्षा, जीविकोपार्जन र प्राकृतिक प्रकोपमा परेका नागरिकलाई सहयोग गर्दै आएको छ । त्यसमध्ये यी गाउँमा जीविकोपार्जनका लागि कार्यक्रम सञ्चालन गरिरहेको रहेछ । तीन वर्षमा त्यो क्षेत्रका १ गाउँमा सञ्चालन गरिएका तीन कार्यक्रमबाट गरिबीको रेखामुनि रहेका नागरिकहरूको आर्थिक अवस्थामा सुधार आएको छ । नान यु गाउँमा सञ्चालन गरिएको ‘होमस्टे’ कार्यक्रम निकै प्रभावकारी देखियो ।

उमेरले ५० कटेका १२ महिलाले १५ वटा होमस्टे २०१६ को सुरुवातबाट सञ्चालन गरेका थिए । खान–लाउन धौधौ पर्ने उनीहरू अहिले होमस्टे सञ्चालनपछि प्रशस्त आम्दानी भएकोमा खुसी देखिन्छन् । सहकारीले काम गर्ने महिलाको मनोबल बढाउन कुनै पनि मानिस होमस्टेमा एक महिनासम्म बस्न आएन भने १९ सय आरएमबी पारिश्रमिक दिन्छ । आए भने निश्चित प्रतिशत उनीहरूले सहकारीमार्फत कोषलाई बुझाउनुपर्छ । सरदर प्रतिमहिना ५ हजार आरएमबी कमाइ हुने महिलाको भनाइ छ । चीनको मुख्य पर्यटकीय क्षेत्र मानिने यो क्षेत्रमा सिजनमा दैनिक हजारभन्दा बढी पर्यटक घुम्ने गरेका छन् ।

नान यु गाउँसँगै सटेको सान भो क्षेत्रमा कोषले ऋण दिएर पशुपालन कार्यक्रम सञ्चालन गरेको रहेछ । त्यहाँका ली छिङ भो नामका नागरिकले कोषबाट ५० हजार आरएमबी ऋण लिएर बंगुर फाम सञ्चालन गरेका रहेछन् । पहिला सय बंगुरबाट व्यवसाय सञ्चालन गरेका उनी अहिले सात सय बंगुरका मालिक बनेका छन् । फार्ममा अहिले उनले चारजनालाई पनि रोजगारी दिएका छन् ।

हामी अर्को गाउँ तु ह्यमा पुग्यौँ। त्यहाँ कोषले लघुवृत्त कार्यक्रम सञ्चालन गरेको रहेछ । गाउँका लिउ क्वाङ स्याङले लघुवित्त कार्यक्रमअन्तर्गत कोषबाट ५० हजार ऋण लिएर पसल सञ्चालन गरेकी रहिछन् । उनले पसलबाट घर व्यवहार चलेको बताइन् । ‘सानो कर्जा ल्याएर पसल सञ्चालन गरेकी थिए । पहिला घर चलाउन गाह्रो थियो । अहिले त सहजै घरव्यवहार चलेर केही पैसासमेत बचत गरेकी छु,’ उनले भनिन् ।

कोषले यी उदाहरणीय पात्रजस्तै तीन करोड ३४ लाख २३ हजार सात सयलाई आर्थिक सहयोग गरेको छ । १८ वटा गाउँमा सञ्चालन गरिएका जीविकोपार्जनबाट उनीहरू सन्तुष्ट छन् । विकासको नयाँ मोडेल अवलम्बनको सुरुवाती चरणमा ४० वर्षपहिले चीनको विश्वको अर्थतन्त्रमा चार प्रतिशत हिस्सा थियो ।

विशाल पर्खाल (ग्रेट वाल अफ चाइना)
हम्रो टोली अक्टोबर १७ मा बिहान ८ बजे ग्रेट वाल अफ चाइना चीनको उत्तरी सीमामा फैलिएको विशाल पर्खालमा गयौं । यो पर्खाल चीनलाई विश्वसामु चिनाउने सबैभन्दा चर्चित पर्यटकीय क्षेत्रमा पर्छ । सम्राट क्विन सी हुवाङले ईशापूर्व तेस्रो शताब्दीमा यो पर्खालको निर्माण सुरु गरेका थिए । हाल पर्यटकहरू पुग्ने यस पर्खालको सबैभन्दा संरक्षित रहेको भाग भने १४ देखि १७औँ शताब्दीमा मिङ साम्राज्यको दौरान निर्माण भएको थियो । दुस्मनको हमला रोक्न यो पर्खालको निर्माण गरिएको भए पनि यसले वास्तवमै त्यस्तो हमला भने कहिल्यै रोक्न सकेन ।

ग्रेट वाल अफ चाइनाको निर्माणको सुरुवात ईशापूर्व तेस्रो शताब्दीमा भएको शोधकर्ताहरूले पत्ता लगाए पनि यससँग जोडिएका थुप्रै पर्खाल त्योभन्दा अघि निर्माण भएका छन् । चीन स-साना राज्यमा विभाजित भएका बेला यस्ता पर्खालहरू निर्माण भएका थिए । चीनको राजधानी बेइजिङबाट करिब ५० किलोमिटर उत्तर पश्चिम लागेपछि ग्रेट वाल पुगिन्छ । बिहान ८ बजेदेखि अवलोकनका लागि खुल्ने ग्रेट वाल हेर्न साँझसम्मै उत्तिकै भीड लाग्छ ।ग्रेट वाल ठूलो, अग्लो र फराकिलो छ । चढ्न कहीँ निकै सजिलो छ भने कहीँ ठाडो भीर पर्छ । स–साना बालबालिका र वृद्धवृद्धा फलामे बार समातेर हस्याङफस्याङ गर्दै उक्लन्छन् ।

पहाडमाथि नागबेली हुँदै पूर्वबाट पश्चिमतिर गएको ग्रेट वाल लियाउनिङ प्रान्तको यालु नदीको किनारदेखि सुरु भएर पश्चिममा गान्सु प्रान्तको जियाउग्वानमा पुगेर टुंगिएको छ । नेपालको बुद्ध जन्मस्थल लुम्बिनीभन्दा १ दशकअघि ग्रेट वाल विश्व सम्पदा सूचीमा सूचीकृत भएको थियो ।

यसै क्रममा हाम्रो टोली अक्टोबर १७ दिउंसो ३ बजे नै बेइजिङको तियानमेन स्कायर र फरविडनसिटी गयौं । तियानमेन स्क्वायर चीनको चर्चित स्थान थियो । सन् १९८९ मा चिनियाँ कम्युनिष्ट पार्टी भित्र हुने सरकारी भ्रष्टचारको विरोध र प्रजातन्त्रको माग गर्दै हजारौं चिनियाँ विद्यार्थी सो स्थानमा उत्रेका समाचार पढिएको थियो ।

जहाँ तत्कालिन चिनियाँ सरकारले आन्दोलनकारीहरुलाई सेना लगाएर कयौं हताहत बनाएको स्थान थियो । ब्रिटिस केबलका अनुसार १० हजार भन्दा धेरै आन्दोलनकारीहरुको हत्या गरिएको जनाइएको छ । तर त्यहाँ के कति हताहत गरिए आधिकारिक तथ्यांक कतैबाट पुष्टीभने भएको छैन । आजकाल त्यहाँ पस्न धेरै अगाडि बाटाहरुदेखि सेनाको जाँच पार गरेपछि मात्र त्यो खुल्ला स्थानमा पुग्न सकिन्छ ।

आधुनिक चीनका निर्माताका रुपमा चिनिने अध्यक्ष माओले चीनमा क्रान्ति गरी पहिलो भाषण गरेको स्थानका रुपमा पनि सो स्थान चिरपरिचित छ । चिनियाँ नागरिकहरु सरकारको गठन प्रक्रियामाभन्दा नि प्रति व्यक्ति आय बढ्दै गएको छ काम गर्न र बस्नका लागि सरकारले प्रबन्ध गरिदिएको छ यसैले यस्ता राजनीतिक भाग दौडमा हिड्ने फूर्सद हुँदैन भनेर चीनको सत्ता र शासन प्रणालीको मात्र हैन पटक पटक अध्यक्ष माओको समेत खुलेर प्रशंसा गर्छन् । त्यहाँ नजिकै नै माओको शव अहिलेसम्म प्रदर्शनीका लागि राखिएको छ ।

तियनमेन स्क्वायरमा कतै कतै सेनाहरु परेड खेल्दै देखिन्थे भने कतै हजारौं स्थानीय र विदेशी पर्यटकहरु आआफ्ना गाइडको पछि लागेर सेल्फीमा रमाउँदै घुमिरहेका थिए । हामी त्यहाँबाट फरविडनसिटीतिर लाग्यौं ।

यसरी ‘बादशाह’ बन्यो चीन
कारोबार होस् वा विदेश नीति वा इन्टरनेट सेन्सरशीपको सवाल होस्, यी विषयहरु आज चीनको मुख्य विशेष बनेको छ । तर यी सबै महत्वपूर्ण मुद्दामाथि चीन आफ्नो परम्परा र इतिहासलाई अत्यधिक महत्व दिइरहेको छ । एक समय यस्तो पनि थियो जब चीनलाई त्यस्तो बेला कारोबार गर्नुर्पयो, जसको लागि ऊ तयार नै थिएन । तर आज पश्चिमी शक्तिको निरन्तर प्रयासपछि पनि आफ्नै शर्तमा कारोबार गरिरहेको छ ।

चीनले आफ्नो सामान अमेरिकी बजारमा बेचिरहेको छ तर, अमेरिकी सामानका लागि चिनियाँ बजार बन्द छ, यही विषयमा अमेरिका र चीनबीच विवाद चलिरहेको छ । बेइजिङका नागरिक करिब १५० वर्ष पहिलेको कुरा अहिले पनि याद गर्छन् । त्यतिबेला चीनको आफ्नो कारोबारमा सामान्य अंकुश थियो । बेलायतले सन् १८३९ मा अफिम युद्धको क्रममा चीनमाथि हमला गरेको थियो ।

कम्युनिस्टको नेतृत्वमा चीनको विकास 
माओत्सेतुङ नेतृत्वमा जनवादी गणतन्त्र चीन स्थापनाको ७० वर्ष पूरा भएको छ । चीनले यो ७० वर्षको अवधिमा कम्युनिस्ट शासनलाई सफलतापूर्वक हाँकेको मात्रै छैन अभूतपूर्व विकास गर्दै विश्वको दोस्रो ठूलो आर्थिक महाशक्ति राष्ट्रका रूपमा उदाउन सफल भएको छ । सन् १९२१ मा स्थापना भएको चिनियाँ कम्युनिस्ट पार्टीले च्याङकाई सेक नेतृत्वको सरकार, जापानी साम्राज्यसँगको पेचिलो लडाइसँगै दीर्घकालीन जनयुद्धको कार्यनीति अवलम्बन गर्दै विजयी प्राप्त गरी १ अक्टोबर, सन् १९४९ मा जनवादी गणतन्त्र चीन स्थापना भएको थियो ।

हामीले आजको चीनको वैभव देखेका छौं तर चीनमा यो वैभव ल्याउने रक्तपातपूर्ण क्रान्तिको विगत कम देखेका र बुझेका छौं । त्यसैले चीनको वर्तमान राज्य व्यवस्था, चिनियाँ जनवादी क्रान्ति र जनयुद्धसम्बन्धी विषयलाई बुझ्न माओ र चिनियाँ कम्युनिस्ट पार्टीले अलम्बन गरेका सिद्धान्त, नीति र कार्यक्रम बुझ्न आवश्यक छ ।

चीनका विश्वव्यापी प्रतिस्पर्धीहरु विस्तारै धराशयी हुँदै गएको देखिन्छ । अमेरिकालाई विश्व रङ्गमञ्चमा प्रभुत्वशाली सावित गर्ने अमेरिकी संस्थाहरुको औचित्य नै खतम पार्ने काममा वर्तमान अमेरिकी राष्ट्रपती आफै लागिपरेका देखिन्छन् । तिनले अमेरिकाले विज्ञान र प्रविधिको क्षेत्रमा लिएको अतुलनीय उडानलाई नजरअन्दाज गरिरहेछन् । खुलापन, सामाजिक सहिष्णुता र समावेशिताका विरुद्ध अमेरिका आत्मकेन्द्रित, श्वेतराष्ट्रवादी, झनै पुरुष-केन्द्रित एक इसाई राष्ट्रका रूपमा विकसित हुँदैछ । युरोपमा झनै विखण्डन आइरहेको छ ।