काठमाडौं – नेपाल भ्रमणमा रहेको विश्वकै पुरानो क्रिकेट क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले नेपाललाई २०२ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एमसीसीले ३९.२ ओभरमा पूरै विकेट गुमाउँदै २०१ रन पूरा गरेको हो ।
एमसीसीले सुरुआती १७ ओभरको खेल सकिँदा १०४ रन बनाएको थियो । एमसीसीका लागि ओपनरमा आएका ब्याट्म्यान विल्ली गोडलम्यानले ५२ रनको अर्धशतकीय पारी खेल्दै आउट भएका थिए । उनलाई नेपालका पवन शरार्फले पहिलो विकेटका रुपमा आउट गराएका थिए ।
आफ्नो दोस्रो विकेटको रुपमा टोम विस्ली १० रनमा आउट भएका थिए । उनलाई ललित राजबंशीले बोल्ड आउट गराएका थिए । त्यसपछि एमसीसीका लागि ओपनरमा आएका विल रोर्डस ५४ रनको अर्धशतकीय पारी खेल्दै आउट भए । उनलाई ललितले क्याच आउट गराएका थिए ।
एमसीसीले आफ्नो चौथो विकेटका रुपमा विल भेन्डेस्परलाई ३६ रनमा गुमायो । उनलाई अविनास बोहोराले बोल्ड आउट गराएका थिए । माइल्स हाल्डम्स एमसीसीको पाँचौ विकटको रुपमा आउट भए । उनलाई ललितले बोल्ड आउट गराएका थिए ।
जिम्मी आड्सम एमसीसीका लागि रन नबनाउँदै आउट भए । उनलाई पवन सरार्फले बोल्ड आउट गराएका थिए । त्यस्तै सातौँ नम्बरमा एमसीसीका लागि ब्याटिङ गर्न आएका क्यालम ज्याक्सन ११ रन बनाएर आउट भए । उनलाई ललितले आफ्नो चौथो विकेटका रुपमा क्याच आउट गराएका थिए ।
एमसीसीका लागि आठौं नम्बरमा ब्याटिङ गर्न आएका आलेक्स थोमसनलाई पवन शरार्फले ११ रनमा आउट गराएका थिए । पवनले क्रिस राइडलाई रन नबनाएर आउट गराए ।
बलिङतर्फ नेपालका लागि ललितनारायण राजबंशी र पवन शरार्फले समान चार–चार विकेट लिए । त्यस्तै अविनास बोहोरा र करण केसीले एक–एक विकेट लिए ।
आइतबार भएको खेलमा नेपाली नेपाली युवा टोली एमसीसीसँग ३८ रनले पराजित भएको थियो । आजको खेलमा नेपाली टोलीका पूर्व कप्तान पारस खड्का र स्पिनर सन्दीप लामिछानेले भने खेलेनन् ।
प्रतिक्रिया