संसदमा प्रधानमन्त्री अाेलीकाे दावी : म दमनकारी शासक होइन, जनताको सेवक हुँ !

संसदमा प्रधानमन्त्री अाेलीकाे दावी : म दमनकारी शासक होइन, जनताको सेवक हुँ !


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तराष्ट्रिय रुपमा लोकतन्त्र भन्दा जे बुझिन्छ आफूहरुका मान्यता त्यही हुने बताएका छन् । संघीय संसद्मा विश्वासको मत माग्न उपस्थित भएर उनले आफ्ना प्रतिवद्धता व्यक्त गरेका हुन् ।

‘म प्रधानमन्त्री हुनका लागि मात्रै होइन, देशमा परिवर्तनका लागि यहाँ उभिएको हुँ, भ्रष्टाचार गर्नका लागि प्रधानमन्त्री भएको होइन, त्यो हुन पनि दिन्नँ । म भ्रष्टाचार गर्दिनँ, हुन दिन्नँ । दमनकारी शासक होइन, जनताको सेवक हुँ ।’, उनले भने ।

उनले आफ्नो सरकार सुशासन दिने खालको हुने बताए । उनले आफूहरु पनि लामो संघर्ष गरेर आएको बताए । ‘जनताको इच्छा आकांक्षा पूरा गर्न बनेको सरकार हो’, उनले भने, ‘चुनावी तालमेल भयो । कुनै भ्रम नहोस् । चुनावका पक्षमा तर्क भए होलान् । हामी देश र जनताका लागि लामो समय संघर्ष गरेर आएका हौं । हामी अन्तराष्ट्रिय समुदायका हिस्सा हौं ।

हाम्रो साझा चुनावी घोषणापत्रमा बाटो र गन्तव्य नै स्पष्ट छन् । हामी हाम्रो देशको राष्ट्रियतालाई सवल बनाउन चाहन्छौं । यो राष्ट्र जसरी हाम्रा पुर्खाहरुले बनाएर बचाएर राखे । स्वतन्त्र राखे । यो गौरव गर्न लायकको कुरा हो । हामी लोकतन्त्रका लागि लडेर आएका हौं । अन्तराष्ट्रिय रुपमा लोकतन्त्र भन्दा जे बुझिन्छ हाम्रा मान्यता तिनै हुन् ।’

उनले भने,‘सरकारलाई सरकार हुँ भनेर दम्भ देखाउने समय छैन र प्रतिपक्षलाई पनि अवरोध गर्ने सुविधा छैन । सरकार दम्भी हुनुहुँदैन । प्रतिपक्ष पनि सहयोगी हुनुपर्छ ।’

उनले अहिले पनि अनावश्यक ढंगले हिंसालाई सिद्धान्तको विषय बनाएर क्रान्तिका कुरा भइरहेको भन्दै अब पनि किन क्रान्ति भन्दै प्रतिप्रश्न गरेका थिए । ‘अब के क्रान्ति गर्ने ? पुग्ने कहाँ ? कोही एकजना महाराजा घोषणा गर्ने हो कि ? जनताले भनेअनुसार चल्ने हो ?’, उनको प्रश्न थियो ।