१३६ मध्ये ७० स्थानीय तहमा जित्न यस्तो छ एमालेको रणनीति, अध्यक्ष ओलीसहितका नेता मधेस झर्दै

१३६ मध्ये ७० स्थानीय तहमा जित्न यस्तो छ एमालेको रणनीति, अध्यक्ष ओलीसहितका नेता मधेस झर्दै


काठमाडाैं– स्थानीय तहको चुनावी प्रचारको अभियानको क्रममा लहानमा पुगेका एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने, ७० स्थानीय तहमा जित्छौं।

 

एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी एस सय ३६ स्थानीय तह रहेको प्रदेश नम्बर २ मा सचिव भट्टराईले भनेझै एमालेले ७० तहमा जितेमा पहिलो बन्ने छ। तर,उनले भनेझै एमालेलाई मधेसमा ७० तह जित्नु सहज नहुने अधिकारीहरु बताउछन्।

 

 

एमालेलाई ‘मधेस विरोधी ट्याग’ लाग्दै आएको छ, भने यसअघिका दुई वटा निर्वाचन बहिस्कार गरेको राष्ट्रिय जनता पार्टी पनि चुनावमा सहभागी हुँदैछ। राजपा आफूलाई मधेसको शक्ति मान्दै आएको छ। सत्तारुढ कांग्रेस, माओवादीको दाबी पनि पहिलो बन्ने नै छ।

 

 

तर, एमाले सचिव भट्टराई यसअघिका दुई वटै चरणको निर्वाचनमा एमाले पहिलो भएको र एमालेप्रति नागरिकको विश्वास, भरोसा रहेकाले मधेसमा पनि पहिलो बन्ने दाबी गर्छन।

 

‘मधेस विरोधी ट्याग’ भन्ने प्रश्न बासी भइसक्यो। म चुनावी प्रचारको क्रममा लहानमै छु,’ भट्टराईले काठमाडौंपाटीसँग भने, ‘एमाले संगठनात्मक रुपमा बलियो छ। नीति र विचार जनअपेक्षित छन्। सिंगो देशलाई जोडेको छ। तराई मधेसको आर्थिक समृद्धि, सामाजिक सदभाव, विकास र समृद्धिका कुरा पनि हामीले नै गरेका छौं।’

 

हिजोसम्म एमालेलाई गाली गर्नेहरु आज आफैँ एमालेमा फर्किन थालेको बताउदै भट्टराईले आफ्नो पार्टी्विरुद्ध फैलाइएको भ्रमलाई चिर्ने र पार्टीलाई २ नं प्रदेशमा बलियो बनाउने गरी आक्रमक प्रचारमा जटिरहेको बताए।

 

बुधबार मनोनयन दर्ता भएपनि यसअघि छनौटको क्रममा एमालेभित्र मतभेद नदेखिएको होइन। उक्त मतभेदले चुनावी परीणाममा असर गर्दैन? भन्ने प्रश्नमा सचिव भट्टराईले भने, ‘ठूलो पार्टीभित्र आकांक्षि धेरै हुन्छन्। केही ठाउँमा मतभेद भएपनि अहिले समस्या छैन। हामी जित्छौं।’

 

एमालेका थुप्रै नेताहरु अहिले मधेसमा छन्। सचिव भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीसहित वरिष्ठ नेताहरुको कार्यक्रम तय हुने क्रममा रहेको र केही दिनमा मधेस झर्ने बताए। वीरगञ्ज लगायतका क्षेत्रमा हुने आमसभाको उद्घाटन ओलीले गर्ने प्रारम्भीक कार्यक्रम तय भएको एमाले स्रोतले जनाएको छ।