चिनियां प्रधानमन्त्रीले महरालाई भने ‘सरकार परिवर्तनले चीनसंगको सम्बन्धमा कुनै फरक पर्दैन भन्नेमा विश्वस्त छौ’

चिनियां प्रधानमन्त्रीले महरालाई भने ‘सरकार परिवर्तनले चीनसंगको सम्बन्धमा कुनै फरक पर्दैन भन्नेमा विश्वस्त छौ’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रोशन खड्का , काठमाडौं– चिनियां प्रधानमन्त्री लि कछयाङले चिनियां राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउन इच्छुक भएको बताएका छन् । साताब्यापी चीन भ्रमणको लागी बेइजिङ पुगेका उपप्रधानमन्त्री समेत रहेका परराष्ट्रमन्त्री कृष्णबहादुर महरासंगको भेटमा बिहिबार चिनिया प्रधानमन्त्रीले उक्त धारणा व्यक्त गरेका हुन ।

 

भेटमा सहभागी नेपाली प्रतिनिधी मण्डलका एक सदस्यकाअनुसार पछिल्लो समय चीन र नेपालबीच उच्चस्तरीय भ्रमणहरु बढीरहेको भन्दै चिनियां प्रधानमन्त्रीले त्यसलाई अझै निरन्तरता दिनुपर्ने धारणा राखेका थिए । उनले उच्चस्तरीय भ्रमणबाट दुवै देशले प्राप्त गर्ने उपलब्धीको बारेमा भने दुई देशसंग स्पष्ट भिजन हुनुपर्ने बताएका थिए ।

 

 

चिनियां प्रधानमन्त्री लि ले नेपाल र चीनबीच विश्वासिलो र मजबुत सम्बन्ध भएको भन्दै आगामी दिनमा यसलाई अझ उचाईमा पुर्याउनुपर्ने धारणा भेटमा राखेका थिए ।  ‘हाम्रा राष्ट्रपति सी नेपाल जान धेरै नै इच्छुक हुनुहुन्छ,तर त्यसको लागी उपयुक्त समय र दुई देशबीचको दुर दृष्ट्री स्पष्ट हुनुपर्छ ।’ चिनिया प्रधानमन्त्रीको भनाई उदृत गर्दै भेटमा सहभागी एक उच्च अधिकारीले काठमाडौंपाटीसंग भने । 

 

उनले नेपाल स्थिर हुदा र कुनै ठोस उपलव्धी हासिल हुने अवस्था भए चिनिया राष्ट्रपति छिट्ट्रै नेपाल भ्रमणमा आउने संकेत समेत गरेका छन् ।
‘उहाले पछिल्लो समय नेपाल र चीनबीच उच्चस्तरीय भ्रमणहरु भइरहेका छन्  भन्नुभयो तर राष्ट्रपतिकै तहको भ्रमणको लागी कुनै महत्वपुर्ण उपलव्धी हासिल  हुनुपर्ने स्पष्ट संकेत गर्नुभएको छ, नेपालले त्यो विश्वास दिलाउन सके छिट्टै सी को नेपाल भ्रमण हुनसक्छ’ नेपाली प्रतिनिधी मण्डलका एक सदस्यले काठमाडौंपाटीलाई भने ।

 

उपप्रधानमन्त्री महरासंगको भेटमा चिनिया प्रधानमन्त्रीले नेपाल स्थिरतातर्फ बढेकोमा खुसी लागेको बताएका थिए । उनले नेपालमा पटक–पटक भइरहने सरकार परिवर्तनले चीनसंगको सम्बन्धमा कुनै फरक पर्दैन भन्ने आफुहरुको विश्वास रहेको समेत महरालाई सुनाएका थिए ।

 

चिनिया प्रधानमन्त्रीले  नेपालको आर्थीक विकास,सार्वभौमिकता र राष्ट्रियताको जगेर्ना गर्न चीन जहिले तयार रहेको धारणा राखेका थिए । त्यसका साथै विआरआईमा नेपाल प्रवेश गरेकोमा आभार व्यक्त गर्दै चिनिया प्रधानमन्त्रीले रेल परियोजनामा आफुहरुको गहिरो चासो रहेको बताएका थिए । उनले त्यसका एउटा पक्ष निकै चुनौतीपुर्ण रहेको बताएका थिए । तिब्बत हुदै रेल नेपाल आउने भएकाले प्राविधीक रुपले निकै कठिन भएको चिनिया प्रधानमन्त्रीले महरालाई सुनाएका थिए ।

 

जवाफमा महराले त्यसको समाधान पनि चीनसंग भएको भन्दै रेल परियोजना छिटो अघि बढाउन आग्रह गरेका थिए । ‘उहाले चीनसंग विश्वमा सबैभन्दा राम्रो प्रविधी र जनशक्ति छ,त्यसलाई छिटोभन्दा छिटो सुरु गर्नुपर्यो भन्नुभयो ।’ भेटमा सहभागी एक अधिकारीले महराको भनाई उदृत गर्दै भन्यो । जवाफमा चिनिया प्रधानमन्त्रीले प्राविधीक सम्भाव्यता अध्ययनको लागी सम्बन्धीत निकायलाई निर्देशन दिइसकेको जानकारी दिएका  थिए ।

 

माओवादी केन्द्रका वरिष्ट नेता समेत रहेका महराले नेपालमा दुई चरणको स्थानिय निकायको चुनाव सम्पन्न भएको र असोज २ मा तेस्रो चरणको स्थानिय चुनाव पनि हुन गइरहेको जानकारी दिएका थिए । उनले नेपाल स्थिरतातर्फ गइरहेको भन्दै त्यसैको लागी सरकारले संघिय र केन्द्रिय चुनाव गर्ने तयारी पनि गरिरहेको चिनिया प्रधानमन्त्रीलाई सुनाएका थिए  ।

 

महराले निकै स्पष्ट रुपमा चिनिया नेतृत्वलाई नेपालमा चिनिया लगानी र चीनसंगको सम्बन्ध सरकार परिवर्तन हुदा पनि फरक नपर्ने सन्देश दिएका छन् । उनको यसपटकको भ्रमणलाई चीनले पनि निकै महत्व दिएको छ ।  महरालाई चिनिया स्टेट काउन्सिलर याङ जीईची, विदेशमन्त्री वाङ यीले मात्र होईन प्रधानमन्त्री ली ले समेत भेटेर उच्च महत्व दिएका छन् । नेपाली प्रतिनिधी मण्डलका एक सदस्यकाअनुसार परराष्ट्रमन्त्री महराले सबै चिनिया नेतृत्वसंगको भेटमा आफ्नो कुरा निकै स्पष्टसंंग राखेका छन् ।

 

उनले चीनसंगको सम्बन्ध र बीआरआई परियोजनाअन्र्तगत भएको रेल परियोजनाबारे आफुले एमाले,कांग्रेस र मधेषवादी दलका नेताहरुसंग छलफल गर्दा सबैले यसलाई एकसाथ अघि बढाउने दृढ प्रतिवद्धता जनाएको भन्दै त्यसलाई चिनिया पक्षले पनि गम्भिर भएर छिटोभन्दा छिटो अघि बढाउनुपर्ने धारणा राखेका थिए । महराको भनाईपछि चिनिया पक्षले यसलाई निकै सकरात्मक रुपमा लिएको छ ।

 

चिनिया नेतृत्वले नेपाल स्थिरतातर्फ गएको भन्दै कुनै विशेष उपलव्धी हासिल भए आफ्ना राष्ट्रपतीको नेपाल भ्रमण छिटै हुने संकेत गरेका छन् । त्यसका लागी भने उपयुक्त समयको आवश्यकता रहेको भन्ने चिनिया भनाई निकै अर्थपूर्ण छ ।

 

महराले सबैजसो भेटवार्तामा आफु यसपटक त्यसै चीन भ्रमणमा नआएको भन्दै चीन आउनुअघि सबै दलको चीनसंगको सम्बन्धबारे गम्भिर छलफल गरेको जानकारी दिएका थिए । उनले सबै दलले एकमतका साथ चीनसंग भएका सम्झौतालाई अघि बढाउने प्रतिवद्धता जनाएको जानकारी पनि चिनिया नेतृत्वलाई दिएका थिए ।