कञ्चनपुरमा मध्यरातमा गोली चल्यो, भारतीय नागरिक घाइते

कञ्चनपुरमा मध्यरातमा गोली चल्यो, भारतीय नागरिक घाइते


महेन्द्रनगर– कञ्चनपुरको भुजेलामा बिहीबार राति गोली चल्दा दुई जना भारतीय नागरिक घाइते भएका छन्। बिहीबार राति १० बजेको समयमा भीमदत्त नगरपालिका ११ भुजेला पुल नजिकै गोली चलेको हो।

 

 

गोली लागेर भारतको बनवासास्थित शारदा ब्यारेज अन्तर्गत पुलमा कार्यरत कर्मचारी ५० वर्षीय जगतसिंह चौहान र ५२ वर्षीय चन्द्र किशोर सिंह घाइते भएका हुन्। चौहानको पाखुरामा र सिंहको पिठ्यूमा गोली लागेको छ।

 

 

घाइते दुवैजनालाई राति नै उपचारका लागि भारत रेर्फर गरिएको छ। महेन्द्रनगरबाट क्यासिनो खेलेर घरतर्फ गइरहेका ती भारतीय नागरिकलाई नेपाली पक्षबाट गोली प्रहार भएको प्रहरीले जनाएको छ।

 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख प्रकाशबहादुर चन्दले भारतीय नागरिकमाथि गोली प्रहार गर्ने भीमदत्त नगरपालिका–९ का विक्रम नाथ र करन भण्डारीलाई पक्राउ गरिएको बताए।

 

 

चन्दका अनुसार उनीहरुको साथबाट एक भरुवा बन्दुक सहित एक राउण्ड गोली बरामद गरिएको छ। पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा राखिएको छ।