जनताको घरदैलोमै सरकार पुग्यो, अब विकासमा लाग्नुस् : चन्द

जनताको घरदैलोमै सरकार पुग्यो, अब विकासमा लाग्नुस् : चन्द


भक्तपुर – पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले जनताको घरदैलोमै सरकार पुगेकाले अब जनताले विकास माग्दै केन्द्रीय राजधानी धाउनु पर्ने अवस्थाको अन्त्य भएको बताएका छन् ।

मध्यपुरथिमिको होली गार्डेन इङ्लिस सेकेण्डरी स्कूलको ३५औँ वार्षिकोत्सवमा आज बोल्दै उनले भने, “अब जनताको घरदैलोमा सरकार पुगेको छ, विकास पनि पहिलाको तुलनामा बढेको छ, अब जनताले प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर विकासलाई तीव्रता दिनुपर्छ ।”

उनले पुरानो ढर्राको शिक्षा अब काम नलाग्ने बताउँदै विदेशमा प्रतिष्पर्धा गर्न सक्ने र स्वदेशमै पनि आफैँले केही गर्न सक्ने शिक्षा अहिलेको आवश्यकता भएको बताए । किताबी ज्ञानले मात्रै अबको शिक्षा अगाडि नबढ्नेमा जोड दिँदै उनले संस्कृत, चरित्र निर्माण, इमान्दारिताको पाठ पनि विद्यार्थीले स्कूलबाटै सिक्नु पर्नेमा जोड दिए ।

सो अवसरमा प्याब्सन भक्तपुरका अध्यक्ष श्रीकृष्ण केसीले सरकारले निजी विद्यालय बन्द गराउनेभन्दा पनि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्नतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए । रासस