प्रदेश नं ५ लाई नमूना प्रदेश बनाउन सकिन्छ : सांसद राना

प्रदेश नं ५ लाई नमूना प्रदेश बनाउन सकिन्छ : सांसद राना


पाल्पा प्रदेश नं ५ का सांसद वीरबहादुर रानाले प्रादेशिक संरचनालाई सबैभन्दा चुस्त र दुरुस्त बनाउनेतर्फ प्रदेश सांसदको भूमिका रहने बताएका छन् । स्थानीय सरकार, प्रदेश र प्रतिनिधिसभा निर्वाचन सम्पन्न भइसकेको अवस्थामा प्रदेशलाई चुस्त–दुरुस्त बनाउनका लागि कानून निर्माण गर्ने काम हुने उनले बताएका छन् ।

नेपाली काँग्रेस, पाल्पाका सभापतिसमेत रहेका रानाले यो प्रदेशमा ऐतिहासिक धरोहर र प्राकृतिक सम्पदा प्रचुर रहेको र यसको संरक्षण र प्रवद्र्धन गरी उचित रूपमा प्रयोग गर्न सकेको अवस्थामा प्रदेश नं ५ लाई नमूना प्रदेश बनाउन सकिने बताए ।

भौतिक विकास सँगसँगै हरेक नागरिकको सामाजिक, आर्थिक, शौक्षिक स्तर माथि नउठ्दासम्म समाज विकास सम्भव नभएकाले नागरिकको जीवनस्तर उकास्दै यो प्रदेशको भौतिक विकासमा लाग्नुपर्ने रानाको भनाइ छ ।

पाल्पा–बुटबल सडकको सिद्धबाबा क्षेत्रका कारण ओझेलमा परेको बुटबलबाट उत्तरतर्फ जाने सिद्धार्थ राजमार्ग मृत्युमार्गका रूपमा रहेकोमा जीवनमार्गका रूपमा स्थापित गर्ने सोचका साथ अघि बढ्ने उनले बताए ।

मृत्युमार्गलाई जीवनमार्गका रूपमा स्थापित गर्नका लागि सिद्धबाबा क्षेत्रको सडकको विकास र विस्तारका लागि वैकल्पिक सडकको खोजी गर्ने, सिद्धबाबा क्षेत्रको जोखिम कम गर्ने काम थालनी भइसकेको र हाम्रो प्रमुख उद्देश्य नै सिद्धबाबा क्षेत्रको सडकका कारण यात्रुले अकालमा ज्यान नगुमाऊन् भन्ने हो भने यसलाई जीवनमार्ग बनाउनका लागि आफ्नो प्रमुख भूमिका रहने रानाले बताउनुभयो । तानसेनमा खानेपानीको प्रक्रिया पनि अघि बढेको उहाँको भनाइ छ ।

पाल्पाबाट बर्षेनी तराईतर्फ बसाइँसराइ गर्न बाध्य हुनेलाई खानेपानी, सडक, शिक्षा, रोजगार लगायतका नागरिकका आधारभूत समस्या समाधान गरी पाल्पालाई नमूना बनाउनेतर्फ गतिविधि अघि बढ्ने उनले बताए ।

पाल्पा जिल्लाभित्र प्रशस्त चुनढुंगा, कोइला खानी रहेका छन् । प्राकृतिक सम्पदाको समुचित रूपमा प्रयोग जनतालाई लाभ लिने केन्द्रीकृत राज्य व्यवस्थामा केन्द्रबाट अनुमति लिने, स्थानीय बासिन्दाले कुनै लाभ लिन नसक्ने व्यवस्था रहेकामा अब जनताको सहभागिता बढाउने र स्थानीय बासिन्दाले नै स्थानीय स्रोत र साधनबाट फाइदा लिन सक्ने उनको दावी रहेको छ ।